जनकपुरधाम, १९ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित प्रगतिनगरमा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले सार्वजनिक मन्दिरको जग्गामा अवैध रूपमा घर निर्माण गरिरहेका छन् ।

स्थानीयवासीको विरोध र प्रशासनिक चुप्पीका बीच सांसद यादवका छोरा डा. अमित यादवले बलजफ्ती घर निर्माण कार्यलाई निरन्तर अघि बढाइरहेका छन् ।

मन्दिरको सार्वजनिक जग्गामा सांसद यादवको अवैध घर निर्माण कार्य अहिले तिव्र गतिमा चलिरहेको छ । स्थानीयवासीहरूले बारम्बार प्रशासनिक निकायहरूमा ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई भएको छैन ।

स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा दर्जनौं स्थानीयले सार्वजनिक सम्पत्तिको संरक्षणको लागि आवाज उठाउँदै प्रशासनसँग शीघ्र कदम चाल्न आग्रह गरेपनि कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् । तर, अहिलेसम्म कुनै साकारात्मक कदम उठाइएको छैन ।

सांसद यादवका छोरा अमितले २४ घण्टा कामदार खटाएर दिनरात काम गर्दै मन्दिरको जग्गामा घर निर्माण गरिरहेको आरोप स्थानीयले लगाएका छन् । उनीहरूले यो निर्माण कार्यले सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र नभई मन्दिरको पवित्रता र यसको समुदायिक महत्वलाई पनि संकटमा पारिरहेको छ ।

विवादको शुरुवात २०६८ सालमा भएको थियो । जनकपुरधाम–८ स्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको नाममा रहेको ६ कट्ठा ५ धुर ३ कन जग्गा सांसद यादवलाई बेचेका थिए । पूजारी दासले स्वीकार गरिसकेका छन् कि उनले शर्त अनुसार वार्षिक ४० किलो धान बुझाउने सम्झौतासहित उक्त जग्गा २२ लाख रुपैयाँमा बेचेका थिए । यससम्बन्धी प्रशासनिक कागजात उपलब्ध भए तापनि स्थानीयवासीले मन्दिरको सार्वजनिक जग्गा समुदायको साझा सम्पत्ति रहेकोले यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न अनुमति दिन नसकिने जिकिर गरे ।

स्थानीयले सांसद यादवको दुरुपयोगले मन्दिरको जग्गामा अवैध निर्माणको प्रक्रिया तीव्र बनाएको जनाएका छन् । उनीहरूले सांसद यादवलाई दोषी ठहर गर्दै उक्त जग्गा मन्दिरकै नाममा राख्नुपर्ने अडान राखेका छन् । यसमा कुनै किसिमको खरिद–बिक्री गर्न नहुने तर्क गरिएको छ ।

स्थानीयवासीहरूले यस अवैध घर निर्माण कार्यको विरोध गर्दै प्रशासन र अन्य निकायसँग बारम्बार ध्यानाकर्षण पत्र र उजुरी दिनुका साथै सार्वजनिक सम्पत्तिको सुरक्षा र शान्ति सुरक्षाको माग गरेका छन् । यद्यपि, सांसद यादव र उनका समर्थकहरूले भने मन्दिरको जग्गा वैधानिक रूपमा किनिएको दाबी गर्दै आएका छन् । उनीहरूको भनाइमा स्थानीयले यो मुद्दालाई विवादास्पद बनाउन खोजेका छन् ।

पूजारी रामसागर दासले उक्त जग्गा उनलाई वैधानिक रूपमा बेचेको सांसद यादव पक्षको तर्क छ । तर, स्थानीयवासीहरूको विचारमा यो बिक्री अनौठो छ । यसलाई कानूनी एवम् सामाजिक दृष्टिकोणबाट समाधान गर्नुपर्ने आवश्यकता छ ।

सांसद यादवका छोरा डा. अमित यादवले मन्दिरको सार्वजनिक जग्गामा जारी राखेको निर्माण कार्यले स्थानीयहरूको आक्रोशलाई तीव्र बनाएको छ । स्थानीयवासीहरूले अब यस विरोधमा उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गर्ने योजना बनाएका छन् ।