जनकपुरधाम, चैत २० गते । धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिकाले पूर्व प्राथमिक तहमा कक्षा थप गरी सञ्चालन गर्न पालिका अन्तर्गतका सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

पालिकाका अध्यक्ष जयकुमार यादवले शैक्षिक सत्र २०८२ देखि लागू हुने गरी पूर्व प्राथमिक तहका कक्षाहरूलाई अंग्रेजी माध्यमबाट सञ्चालन गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेका छन्। यस अन्तर्गत इसीडी बाल विकास, नर्सरी, एलकेजी, र युकेजी कक्षाहरूलाई अंग्रेजी माध्यममा सञ्चालन गर्न निर्देशन दिइएको छ।

विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, सम्बन्धित विद्यालयहरूले आफ्नो इमीस  प्रणालीमा विद्यार्थीको नामांकन दर्ता गरी अद्यावधिक गर्नुपर्ने छ। साथै, गाउँपालिकाले तोकिएको कक्षाका विद्यार्थीहरूका लागि निशुल्क पाठ्यपुस्तकहरू उपलब्ध गराउने व्यवस्था मिलाइने जनाइएको छ।