जनकपुरधाम, चैत २१ गते । संघीय लोकतान्त्रिक मोर्चा गठनको विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मोर्चाको उद्देश्यबारे स्पष्टिकरण दिएका छन् । उनले यो मोर्चा को विषयमा अहिले पनि दस्तावेज तयार भइरहेको अवस्थामा रहेको बताउदै चक्रिय प्रणाली अनुसार बैठक सबै पार्टीले राख्ने र सोदिन सोही दलको अध्यक्षले मोर्चाको अध्यक्षता गर्ने निर्णय भएको बताए ।

उनका अनुसार, संघीय लोकतान्त्रिक मोर्चा लूज एलायन्सको रूपमा अघि बढ्नेछ, जसको मुख्य उद्देश्य अधिकारको रक्षा र आन्दोलनको प्रयोजनको लागि हो । उनले ठूला दलहरूले गणतन्त्रको पक्षमा आवाज उठाउने तर संघीयता जोगाउने विषयमा मौन बस्ने तथा समानुपातिक समावेशिता खारेज गर्ने प्रयास गरिरहेको दाबी गरे ।

अध्यक्ष राउतका अनुसार मोर्चामा कुनै स्थायी अध्यक्ष रहने छैन । चक्रिय प्रणाली अनुसार बैठक आयोजना गरिन्छ, र सो बैठक आयोजना गर्ने दलको अध्यक्षले मात्र मोर्चाको अध्यक्षता गर्नेछ । मोर्चामा हाल जनमत पार्टी (६ सिट) सबैभन्दा ठूलो दल रहेको छ । त्यसपछि जसपा नेपाल (५), नागरिक उन्मुक्ति पार्टी (४), लोसपा (४), तमलोपा, जनता प्रगतिशील पार्टी, र राष्ट्रिय मुक्ति पार्टी सामेल छन् ।

उनले मोर्चाका सदस्य दलहरू स्वतन्त्र रहेको उल्लेख गर्दै, कुनै पनि दल मोर्चामा जबरजस्ती समेटिने वा बाँधिने छैन । आवश्यक परे नेतृत्वको जिम्मेवारी जनमत पार्टीले लिने संकेत उनले गरेका छन् ।

सीके राउतले ठूला दलहरूको रवैयाप्रति असन्तोष व्यक्त गर्दै भने, “काँग्रेस र एमाले मिलेर गठबन्धन बनाउन सक्छन्, तर संघीयता पक्षधर दलहरूले मोर्चा बनाउन नहुने भन्ने कुरा हुँदैन ।“ उनका अनुसार ठूला दलहरूले साना दलहरूलाई विभाजित गरेर कमजोर बनाउने रणनीति अपनाइरहेकाले संघीयता जोगाउन मोर्चाको गठन अपरिहार्य भएको हो।

राउतले केही मिडियाहरूले मोर्चाबारे गलत सूचना प्रवाह गरेको आरोप लगाउँदै भने, “पार्टीहरूको समाचार लेख्दा कम्तीमा कुन पार्टीको कति सिट छ भन्ने आधारमा समाचार लेख्नुपर्छ, मानसिकताको आधारमा होइन ।“ उनले मोर्चाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरे ।