जनकपुरधाम, २१ चैत । जनकपुरधाम सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य तथा न्यू अलंकार ज्वेलर्सका सञ्चालक सुरेश महतोको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरधामका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले बिहीबार एक दिनका लागि पसल बन्द गरेका छन् ।

बुधबार राति करिब १० बजे हृदयघातका कारण महतोको निधन भएको हो । उनलाई तत्कालै अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै निधन भएको जनाइएको छ । सुनचाँदी व्यवसायी संघले परम्पराअनुसार शोकसभा गर्दै एक दिनका लागि व्यवसाय स्थगन गर्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष राजिव कुमार चन्दनले भने, ‘सुरेश महतोजस्तो अनुभवी व्यवसायीको असामयिक निधनले हाम्रो व्यवसायिक समुदायलाई अपूरणीय क्षति पुगेको छ । उहाँले व्यवसायिक क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ । हामी उनको सम्झनामा एक दिन व्यवसाय स्थगन गर्दै श्रद्धाञ्जली अर्पण गर्दैछौं ।’

महतोको निधनप्रति संघका पदाधिकारी तथा व्यवसायीहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सुनचाँदी व्यवसायमा पुर्याएको योगदान स्मरणीय रहेको र उनको अनुपस्थितिले व्यवसायिक क्षेत्रमा ठूलो रिक्तता पैदा भएको व्यवसायीहरूले बताएका छन् ।

शोकमा व्यवसायीहरूले महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी माता जानकीसँग प्रार्थना गरेका छन् ।