जनकपुरधाम, २१ चैत । धनुषाको ढल्केवर सव स्टेशनमा आगलगीको कारण विद्युत आपूर्ति ठप्प भएको छ । सव स्टेशनबाट प्रसारण हुने विद्युत लाइन दिउँसोदेखि अवरुद्ध भएको छ । जसका कारण धनुषा र आसपासका जिल्लामा विद्युत संकट निम्तिएको छ ।

प्रारम्भिक विवरण अनुसार ढल्केवर सव स्टेशनमा हावाहुरीका कारण विद्युत आपूर्ति गर्दै आएको तार चुँडिएको र त्यसपछि तारको सर्ट भएपछि आगलगीको घटना भएको हो । यसले सव स्टेशनको विद्युत प्रसारणलाई पूर्ण रूपमा रोकिदिएको छ ।

घटनापछि जनकपुरसहित धनुषाका विभिन्न क्षेत्र र त्यसका आसपासका महोत्तरी, सिरहा र सप्तरी जस्ता जिल्लामा विद्युत आपूर्ति बन्द भएको हो । यस घटनाले जनजीवनमा ठूलो असर पारेको छ । विशेषगरी व्यवसाय, शिक्षा र स्वास्थ्य सेवामा असुविधा सिर्जना भएको छ ।

विद्युत प्राधिकरणले सो क्षेत्रका वितरण केन्द्रहरू मार्फत सूचना जारी गर्दै अवरुद्ध विद्युत सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको बताएको छ । यद्यपि, कति समय लाग्ने भन्ने बारे यकिन जानकारी प्राप्त भएको छैन ।

स्थानीय विद्युत प्राधिकरणका अधिकारीहरूले मर्मतको काम तीव्र गतिमा भइरहेको र छिट्टै समस्या समाधान हुने बताएका छन् ।