महोत्तरी, चैत २२ गते । जङ्गली भालुको आक्रमणबाट महोत्तरीका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका–३ पाटुका ५१ वर्षीय जिस्नुप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दुलाल शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका ११ तुलसीस्थित आफ्नै खेतमा काम गरिरहनु भएको बेला भालुको आक्रमणमा पर्नुभएको हो । काम गरिरहेकै समयमा नजिकैको जङ्गलबाट निस्किएको भालुले एक्कासी आक्रमण गर्दा उहाँ गम्भीर घाइते भएको परिवारजनले जनाएको छ । आक्रमणले दुलालको आँखा र अनुहारमा गहिरो चोट लागेको छ ।

गम्भीर घाइते दुलाललाई बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचारका लागि ल्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि ट्रमा सेन्टर काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ ।