जनकपुरधाम, चैत २३ गते । जनकपुरधामस्थित जनकपुर न्यूरो अस्पतालले पैसा बुझाउन गएका कर्मचारीलाई नै बन्धक बनाएको आरोप लागेको छ। जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले अस्पतालले सहमति विपरीत कर्मचारीलाई थुनेको र गुण्डाशैलीमा व्यवहार गरेको गम्भीर आरोप लगाएका छन् ।

शनिबार द न्यूज होम सँगको कुराकानीमा अध्यक्ष चौधरीले बताएअनुसार, दुई दिनअघि अस्पतालका संचालक डा. अजय राउतसँग भएको सहमति अनुसार पैसा बुझाउन लेखापाललाई अस्पताल पठाइएको थियो। बिहान १० बजे लेखापाल पैसा लिएर अस्पताल गएका थिए, तर अस्पतालका संचालक डा. राउतले उनलाई कोठामा थुनेको आरोप छ ।

चौधरीका अनुसार दिउँसो तिर लेखापाल थुनिएको खबर पाएपछि उनले डा. राउतलाई फोन गर्दा “२० लाख नल्याएसम्म रिहा गर्दिन” भन्ने जवाफ आएको थियो ।

“मंगलबार भएको बस दुर्घटनाका चार जना बिरामीहरूलाई डिस्चार्ज गरिएको थियो, तर उनीहरूलाई पनि अस्पतालमै राखिएको भन्ने जानकारी पाएपछि म अस्पताल पुगेको थिएँ,” अध्यक्ष चौधरीले भने, “बाँकी उपचार भइरहेका बिरामीको लागि तत्काल पाँच लाख बुझाउने र बाँकी रकम एक हप्ताभित्र तिर्ने सहमति भएको थियो। तर पैसा लिएर लेखापाल पठाउँदा कर्मचारीलाई जबर्जस्ती थुनेर गुण्डाशैली देखाउनु कहाँको न्याय हो?”

उक्त बस दुर्घटना चैत १ गते धनुषाको मालटोलमा भएको थियो। परिक्रमा गरेर फर्किरहेका यात्रुहरू सवार धनलक्ष्मी ट्राभल्सको ना ५ ख १४४१ नम्बरको बस दुर्घटनामा परेर करिब ४२ जना घाइते भएका थिए। घाइतेहरूलाई प्रादेशिक अस्पताल लगिनुपर्नेमा एम्बुलेन्स चालकहरूको सेटिङमा जनकपुर न्यूरो अस्पतालमा भर्ना गरिएको अध्यक्ष चौधरीको आरोप छ ।

“बिना सहमति नवयुवक खलासीको खुटा काटिएको छ, ४५ जना भर्ना भएका मध्ये ३५ जनालाई भोलिपल्टै डिस्चार्ज गरियो, र तिनको बिल १३ लाख आएको थियो, जुन रकम हामीले तिरिसकेका छौं,” चौधरीले बताए। “अहिलेसम्म उपचार भइरहेका केही बिरामीको नाममा ७१ लाखको बिल थमाइएको छ। बोर्ड बैठक बसेपछि बाँकी रकम तिर्ने भनेको छौं, तर त्यसअघि नै कर्मचारीलाई बन्धक बनाउने जस्तो व्यवहार गर्नु अस्वीकार्य छ ।”

यस प्रकरणले जनकपुर न्यूरो अस्पतालको व्यवहारमाथि पुनः प्रश्न उठाएको छ । अस्पतालका संचालक डा.राउतले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रालिले पैसा नतिरेर जवरजस्ती डिस्चार्ज गर्न खोजेको आरोप लगाए । उपचार खर्चको सम्वन्धमा आफूले पटक पटक बस व्यवसायी संघलाई आग्रह गर्दा उनीहरु फोन नउठाउने र मोवाइल समेत स्वीच अफ गर्ने गरेका कारण आफूहरुलाई समस्या भएको डा. राउतको गुनासो छ ।

यता प्रालिका अध्यक्ष चौधरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने भनेर प्रतिक्रिया दिएका छन् ।