जनकपुरधाम,चैत २३ गते । नेपाल जलस्रोतमा धनी देश भएर पनि नेपाली उपभोक्ता अहिले पैसा तिरेर पनि अशुद्ध पानी खान बाध्य छन् । सस्तोको होडबाजी र व्यवसायीले बढि नाफा कमाउने उदेश्य हावी भएको कारण अखाद्य पानीको व्यापार बढदै गएको छ ।

हाल जनकपुरधामलगायत आसपासका क्षेत्रमा प्रशोधित भनिएको पानीको प्रयोग बढ्दो छ । तर, अधिकांश उपभोक्ता शुद्धता र गुणस्तरप्रति सचेत छैनन्। यही कमजोरीको फाइदा उठाउँदै केही व्यवसायीहरूले नाफाको लोभमा गुणस्तरहीन पानी बिक्री गरिरहेका छन् ।

पानी उद्योगमा एक दशकभन्दा बढी समयदेखि सक्रिय श्री बालाजी ड्रिकिङ वाटरका सञ्चालक सञ्जय कुमार झा भन्छन्, “जार वा बोतलमा प्याक गरियो भने मात्र पानी शुद्ध हुन्छ भन्ने बुझाइ गलत हो। बजारमा पाइने सबै पानी पिउन योग्य छैन ।”

झा भन्छन्, व्यवसाय सुरुमा नाफामूलक देखिए पनि गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुन्छ । धेरैले लगानी सुरक्षित गर्नकै लागि जस्तो पायो त्यस्तै पानी प्याक गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति देखिन्छ ।

उनका अनुसार, पानी व्यवसायलाई नाफाको स्रोत मात्र नभई जिम्मेवारीको विषयका रूपमा हेर्नुपर्छ । “स्वास्थ्य जस्तो संवेदनशील विषयसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन,” उनी जोड दिन्छन् ।

सरकारी निकायदेखि होटल र रेस्टुरेन्ट सञ्चालकहरूसमेत सस्तोको मोहमा गुणस्तरहीन पानी प्रयोग गरिरहेको दृश्य आम देखिन्छ। “सस्तो किन भयो वा महँगोको आधार के हो भन्ने नबुझी किनिने पानीले शिक्षित भनिएका उपभोक्तासमेत गलत निर्णय गरिरहेका छन्,” झाको गुनासो छ ।

उनी उपभोक्ता र सरोकारवाला निकायलाई मिथिलाविहारी नगरपालिका–१० स्थित आफ्नो उद्योगको अवलोकन गर्नसमेत आमन्त्रण गर्छन् ।

विशेषज्ञहरूको भनाइमा, शुद्ध पानीको सुनिश्चितताका लागि उपभोक्ताहरू स्वयं सचेत बन्नु अत्यावश्यक छ । पानी खरिद गर्दा गुणस्तर प्रमाणपत्र, परीक्षण प्रतिवेदन र उद्योगको विश्वसनीयता अनिवार्यरूपमा जाँच्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपालमा बढ्दो जलजन्य रोगहरूको मुख्य कारण दुषित पानी नै हो। यस्तो अवस्थामा ’सस्तो’को नाममा गरिने लापरवाही जनस्वास्थ्यप्रति अपराध सावित हुन सक्छ ।