जनकपुरधाम, चैत २४ गते । सुडी समुदायको हकहित, संरक्षण र समुन्नत विकासका उद्देश्यसहित सक्रिय रहेको सुडी समाज महासंघ नेपालले आफ्नो दोस्रो वार्षिक साधारणसभा जनकपुरधाममा सम्पन्न गरेको छ।

सभामा महासंघको वर्तमान कार्यसमितिले प्रस्तुत गरेको कार्य प्रगति, आर्थिक विवरण र भावी कार्ययोजनामाथि गहन छलफल भएको जनाइएको छ। विस्तृत छलफलपछि प्रतिवेदनहरू पारित गरिने बताइएको छ।

साधारणसभामा देशभरका सातै प्रदेशबाट करिब चार सय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महासंघका वर्तमान अध्यक्ष प्रमेश्वर महासेठले सभालाई सम्बोधन गर्दै समाजलाई वर्तमान अवस्थामा ल्याउन योगदान पुर्‍याउने सबै पदाधिकारी, सदस्य तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा समाजलाई थप सशक्त बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री एवम् सांसद सुरिता साह, सभासद उपेन्द्र महतो, रमिता प्रधान, कञ्चन विच्छा, अनिता साह, र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहको सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्व सांसद शैल महतो, पूर्व प्रदेश सांसद परमेश्वर साह, धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह, औरही गाउँपालिका अध्यक्ष उमाशंकर साह, विद्यान मस्यौदा समितिका सदस्य रामशंकर महासेठ, उपाध्यक्ष विद्याकर प्रसाद साहसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।