काठमाडौं, २४ चैत । नेपालको राष्ट्रिय राजनीतिमा नयाँ शक्ति निर्माणको संकेत मिलेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आगामी बैशाखको दोस्रो साता भित्र पार्टी एकीकरण गर्ने सहमति जनाएका छन् । दुई पार्टीका शीर्ष नेताहरूले बर्दियास्थित सुन्दरपुरमा बसेको बैठकमा एकता प्रक्रियाका विभिन्न पक्षमा सहमति जनाएका छन् ।

बैठकले एकता प्रक्रिया सशक्त बनाउनका लागि पार्टी एकता मोडालिटी तय गर्दै छ । त्यसमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका तीन–तीन प्रतिनिधिहरू रहेका छन् । उक्त कार्यदलले एकीकृत पार्टीको नेतृत्व संरचना, विधान र संगठनात्मक ढाँचाको तयारी पूरा गरेको जनाइएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई नयाँ एकीकृत पार्टीको अध्यक्ष बनाउनको लागि सहमति जुटेको छ । यता, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपाध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ । यसैगरी, नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशम चौधरीलाई नयाँ पार्टीको संरक्षक बनाउने सहमति पनि भइसकेको छ ।

पार्टीको नाम र चुनाव चिन्हका विषयमा भने सहमति जुट्न बाँकी रहेको जानकारी प्राप्त भएको छ । प्रारम्भिक चरणमा एउटा पार्टीको नाम र अर्को पार्टीको चुनाव चिन्ह राख्ने प्रस्ताव गरिएको भए पनि अन्तिम निर्णय भने शीर्ष नेताहरूको सहमति पछि गरिनेछ ।

यो एकता विशेष रूपमा मधेश, थरुहट र पहिचानको राजनीतिलाई केन्द्रमा राखेर गरिएको छ । सीके राउत र रेशम चौधरी दुवै नेताले संघीयता, समानुपातिक प्रतिनिधित्व, नागरिक अधिकार र मुलुकको समग्र सामाजिक र राजनीतिक समावेशिताका पक्षमा प्रचण्ड रूपमा वकालत गर्दै आएका छन् । यिनका नेतृत्त्वमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले नेपाली राजनीतिमा एक वैकल्पिक शक्ति निर्माण गर्ने दिशा अघि बढाएका छन् ।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरूका लागि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समावेशिता जस्ता मुद्दाहरू प्राथमिक रहेका छन् । यसैले उनीहरूले एकीकृत पार्टीको माध्यमबाट संघीय संरचना, राज्यको समावेशीता र संविधानको पूर्ण कार्यान्वयनको वकालत गर्ने बताएका छन् ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार नयाँ एकीकृत पार्टीको औपचारिक घोषणा बैशाखको पहिलो साताभित्र गरिनेछ । यससँगै, नयाँ पार्टीको दर्ता प्रक्रिया र सार्वजनिक कार्यक्रमहरूको आयोजना गरेर नेपाली राजनीतिक क्षेत्रमा एक नयाँ युगको शुरुवात गर्ने तयारी छ ।

साथै, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आगामी निर्वाचनमा संघीय प्रतिनिधित्व, विधायिका र कार्यपालिकामा सशक्त सहभागिता सुनिश्चित गर्ने र विकेन्द्रीकरणको कार्यान्वयनमा काम गर्ने उद्देश्य रहेको स्पष्ट छ ।