जनकपुरधाम, २५ चैत । मधेश प्रदेश सरकारले ल्याएको स्वास्थ्य सेवा ऐन, २०८१ विरुद्ध प्रदेशभरका स्वास्थ्यकर्मीहरू सोमबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । आफूहरूको वृत्ति विकासमा गम्भीर असर पार्ने प्रावधान राखेर ल्याइएको ऐन संशोधन नगरी नछाड्ने भन्दै उनीहरूले जनकपुरधाममा आन्दोलनको शुरुवात गरेका हुन् ।

धर्ना जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै रेल्वे लिकको दक्षिणपट्टि मुख्य सडकमा भइरहेको छ । आन्दोलनको अगुवाइ सिनियर अहेव र सिनियर अनमी चौथो तथा पाँचौँ तह संघर्ष समिति मधेश प्रदेशले गरिरहेको छ ।

संघर्ष समितिका प्रदेश संयोजक मोहन साहका अनुसार, ‘हामीले पटक–पटक ऐन संशोधनको माग गरेका थियौं । तर, प्रदेश सरकारले बेवास्ता गर्दै आएको छ । अन्ततः हामी मुख्यमन्त्री कार्यालय अगाडि चर्को घाममा धर्ना बस्न बाध्य भएका छौं ।’

उनका अनुसार मधेश प्रदेशभरिका करिब १ हजार ५ सयदेखि १ हजार ८ सय स्वास्थ्यकर्मीहरू ऐनबाट प्रत्यक्ष प्रभावित छन् । ‘स्वास्थ्य सेवा ऐन २०८१ ले हाम्रो वृत्ति विकासको ढोका बन्द गरिदिएको छ,’ संयोजक साहले गुनासो गर्दै भने, ‘अब संशोधन नभएसम्म हामी चुप लाग्दैनौं ।’

संघर्ष समितिका कोषाध्यक्ष रामदेव कापरले भने, ‘संघीय स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ को ख अनुसार ४ तहमा नियुक्त भएका कर्मचारीले ५ वर्षपछि पाँचौँ, त्यसपछि ८ वर्षमा छैटौँ र ५ तहबाट नियुक्त कर्मचारीले ७ तहसम्म पदोन्नति पाउने व्यवस्था छ । तर, प्रदेश सरकारले त्यो मर्म विपरीत ऐन ल्याएर हामीलाई पछाडि पार्ने काम गरेको छ ।’

उनले थपे, ‘हामीले स्थानीय तहदेखि प्रदेश सरकारसम्म पटक–पटक ध्यानाकर्षण गरायौं । तर, हामीलाई निरन्तर बेवास्ता गरियो । अब त आन्दोलन बाहेक अर्को विकल्प छैन ।’

आन्दोलनको समर्थनमा काठमाडौंबाट पनि आवाज उठ्न थालेको छ । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष सुभाषचन्द्र गुप्ताले ऐनको विरोधमा उत्रिएका स्वास्थ्यकर्मीहरूका मागलाई ‘सौ प्रतिशत जायज’ बताए ।

गुप्ताले जनकपुरधाममा आयोजित धर्नास्थलबाट सम्बोधन गर्दै भने, ‘प्रदेश सरकारले ल्याएको ऐनले एकातर्फ कर्मचारीको करियर रोकिएको छ भने अर्कोतर्फ जनतासम्म प्रभावकारी सेवा पुर्याउने संरचनामा नै असर पुगेको छ । यस्तो ऐन जनस्वास्थ्यप्रतिको प्रहार हो ।’

उनका अनुसार, ‘प्रदेश सरकारले गृह, सञ्चार तथा कानूनमन्त्रीको संयोजकत्वमा गठन गरेको समिति नै प्रतिवेदन दिइसकेको छ । तर, कार्यान्वयन भएको छैन । स्वास्थ्यकर्मीहरूको यो आन्दोलन केवल आफ्नै अधिकारको लागि होइन, जनस्वास्थ्यको रक्षाको लागि पनि हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार जनकपुरधाम आगमनलाई ध्यानमा राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरूले धर्नास्थल सडकबाट हटाएर बाह्रबिघामा सार्ने निर्णय गरेका छन् । उनीहरूको भनाइ अनुसार, ‘प्रधानमन्त्रीको सुरक्षामा अवरोध नआओस् भनेर धर्नालाई स्थानान्तरण गरिएको हो । तर, आन्दोलन भने कायमै रहनेछ ।’

आन्दोलनरत पक्षले जनस्वास्थ्यमा गम्भीर असर नपरोस् भनेर आपतकालीन र अत्यावश्यक सेवा भने निरन्तर राख्ने निर्णय गरेका छन् ।