जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा विशेष सम्बोधन गर्न लागेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनले प्रदेश र संघीय सरकार बीचको सम्बन्धलाई अझ मजबुत बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा प्रदेशका समसामयिक राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा आफ्ना विचार र धारणा राख्ने बुझिएको छ । साथै, उनले सरकारका भविष्यका योजनाबारे पनि जानकारी दिने छन् ।

प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले सुरक्षा र व्यवस्थापनको लागि कडा तयारी गरेको छ । प्रदेश सभामा उनका स्वागतको लागि व्यापक तयारी गरिएको छ र सभाहलको भित्री संरचनामा विशेष ध्यान दिइएको छ । सभाहलको कुर्सीहरूको नयाँ व्यवस्था मिलाउने, नयाँ कार्पेट बिछ्याउने कार्य रातभरि पूरा गरिएको छ ।

प्रधानमन्त्रीको स्वागतका लागि विभिन्न स्थानहरूमा स्वागतद्वारहरूको निर्माण गरिएको छ र सभाको वातावरणलाई आकर्षक र औपचारिक बनाउनका लागि विशेष प्रयास गरिएको छ ।

प्रदेश सभाका प्रवक्ता विपिन ठाकुरका अनुसार प्रधानमन्त्री ओलीको आगमनलाई ऐतिहासिक बनाउन सबै तयारी पूर्ण रूपमा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि उनले सिरहामा आयोजना हुने आमसभामा भाग लिने कार्यक्रम पनि तय गरिएको छ ।