जनकपुरधाम, चैत २६ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी कार्यकर्तालाई चेतावनी दिँदै पार्टीभित्र गद्दार प्रवृत्तिका व्यक्तिहरू सक्रिय रहेको गम्भीर खुलासा गरेका छन् । पार्टीको एकता र संघर्षलाई कमजोर पार्ने नियतका साथ केही व्यक्तिहरू षड्यन्त्रमा लागेको राउतको भनाइ छ ।

राउतले समाजिक संजाल माफर्त आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै भने, “पार्टीको ऐतिहासिक एकताले जनतामा उत्साह र हर्षको वातावरण सिर्जना गरेको छ । तर केही असंवेदनशील र स्वार्थी तत्वहरू उक्त एकतालाई भत्काउने प्रयासमा लागिरहेका छन् ।”

उनका अनुसार ती व्यक्तिहरूले गाडी र पैसा लगानी गरेर पार्टीभित्र गुटबन्दी र भ्रम फैलाउने काम गरिरहेका छन् । पार्टी नेतृत्वलाई कमजोर बनाउने, प्रमुख नेताहरूलाई अपमान गर्ने, र संगठनलाई विभाजन गर्ने कार्य ती व्यक्तिहरूबाट भइरहेको उनले बताए ।

“जनमत पार्टी तीन करोड जनताको विश्वासको प्रतीक हो,” राउतले भने, “यसको एकता र संघर्षलाई कमजोर बनाउने प्रयास गम्भीर अपराध हो। त्यसैले यस्ता गद्दारहरूको योजनाविरुद्ध सबै कार्यकर्ताहरू एकजुट हुन आवश्यक छ ।”

उनले यस्ता षड्यन्त्रहरूले पार्टीको छवि र भविष्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै, व्यक्तिगत स्वार्थमा नलाग्न र विवेक प्रयोग गर्दै पार्टीको एकता जोगाउन सबैलाई आह्वान गरे ।

सीके राउतको यो सन्देशले पार्टीभित्र चासो र बहस उत्पन्न गराएको छ । पार्टीको एकता बचाउन र जनताको भरोसा कायम राख्नको लागि सबै तहका कार्यकर्ताहरू मिलेर अघि बढ्नुपर्ने स्पष्ट संकेत उनले दिएका छन् ।