जनकपुरधाम, चैत २६ गते । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित प्रगतिनगरमा रहेको मन्दिरको सार्वजनिक जग्गामा अवैध रूपमा घर निर्माण कार्य जारी रहेको छ । स्थानीय समुदायले तीव्र विरोध जनाइरहेका भए पनि प्रशासन र सरोकारवाला निकायहरूको मौनता गम्भीर प्रश्नको विषय बनेको छ ।

यस निर्माण कार्यमा नेपाली कांग्रेसबाट निर्वाचित मधेश प्रदेशका सांसद जंगीलाल राय यादव र उनका छोरा डा. अमित यादवको प्रत्यक्ष संलग्नता देखिएको स्थानीयको आरोप छ । डा. यादवले २४ घण्टा कामदार खटाएर घर निर्माण गरिरहेका छन्, जसले विवादलाई झनै गहिरो बनाएको छ ।

यो विवाद झन्डै १५ वर्ष अघिदेखि चलेको हो । २०६८ सालमा विहारकुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको जग्गा सांसद यादवलाई २२ लाख रुपैयाँमा बिक्री गरेको दाबी गरिएको छ । सो जग्गा वार्षिक ४० किलो धान बुझाउने सर्तमा मनखपमा दिइएको भए पनि स्थानीयले यसलाई सार्वजनिक सम्पत्तिको बेइमानी र दुरुपयोग भनेका छन् ।

विवादित जग्गामा निर्माण भइरहेका बेला स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तथा अन्य निकायहरूमा पटक–पटक उजुरी दिएका छन् । तर, अहिलेसम्म कुनै ठोस कारवाही नभएको स्थानीयको गुनासो छ ।

स्थानीय युवा दीपक पटेल भन्छन्, “प्रशासनले यो विषयमा जानाजानी आँखा चिम्लिएको छ । सांसदको हैसियतले उनले जनताको सम्पत्ति कब्जा गर्नु दुखद विषय हो ।”

गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्द कर्माचार्यले सो क्षेत्र गुठीको नाममा रहेको जनाउँदै बिना अनुमति स्थायी संरचना बनाउन नपाइने स्पष्ट पारे। उनले अनियमितता भएको पुष्टि भएमा कारवाही गर्ने आश्वासन दिए पनि निर्माण कार्य भने अझै निरन्तर चलिरहेको छ ।

नगर प्रमुख मनोज कुमार साहले भने, “यदि लिखित निवेदन प्राप्त हुन्छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।” उनले समस्या समाधानका लागि सबै पक्षसँग संवाद र सहमति खोजिने बताए ।

मन्दिरको जग्गा जोगाउन र अवैध निर्माण तत्काल रोक्न, सम्बन्धित निकायले तुरुन्त हस्तक्षेप गर्नुपर्ने स्थानीयवासीको माग छ ।