जनकपुरधाम, २८ चैत । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फेरि एकपटक विवादमा तानिएको छ । यसपटक मन्त्री सरोजकुमार यादवको नाम ठगी प्रकरणमा मुछिएको छ ।

व्यवसायी राजेशकुमार साहले मन्त्रीका नजिकका मानिएका नेकपा एमालेका कार्यकर्ता तथा जीटेक ट्रेड एण्ड इन्जिनियरिङ प्रालिका प्रोप्रराइटर सुजित कुमार कापरीमार्फत ठगी गरिएको आरोप लगाएका छन् ।

आरके साह मेसिनरी प्रालिका प्रबन्ध निर्देशक साहका अनुसार कापरीले असार महिनामा झण्डै ४ लाख ६० हजार रुपैयाँ बराबरको मेसिनरी सामग्री उधारोमा लगेका थिए । सो सामग्रीको भुक्तानी दुई दिनमै गरिने सर्तमा भएको बताइन्छ । तर, सोही क्रममा मन्त्री यादवलाई दिनुपर्ने कमिसन भन्दै कापरीले नगद १ लाख ३० हजार रुपैयाँ समेत साहसँग लिएका थिए । साहको दाबीअनुसार उक्त रकम मन्त्रीकै निर्देशनमा मागिएको थियो ।

साहले कापरीले मन्त्री सरोज यादवको नाम अगाडि राखी ‘भुक्तानी दिन्न, जे गर्न सक्छौ गर’ भन्ने शैलीमा धम्क्याउने गरेको आरोप लगाए ।

९ महिना लामो प्रतिक्षा पछि कापरीले साहलाई चैत १५ गते सिटिजन्स बैंकको ६ लाख रुपैयाँको चेक दिएका थिए । तर, उक्त चेक बाउन्स भएको छ । बैंकमा सो रकम उपलब्ध नभएको जानकारी पाएपछि साह जिल्ला प्रहरी कार्यालय धनुषामा कानुनी उजुरी दिन बाध्य भएका छन् ।

साहका अनुसार, ‘५० हजार रुपैयाँ घाटा सहेर भए पनि सबै रकम एकमुष्ट पाउने आशामा मैले चेक स्वीकारेँ । तर, फेरि पनि ठगिएँ । अब फेरि प्रहरीकहाँ जानुपरेको छ ।’

यति लामो समयसम्म मन्त्री यादवले आफ्नो नाम प्रयोग गरी कमिसनको नाममा रकम उठाएको विषयमा मौन बसेको र मन्त्रालयमा गुनासो गर्दा उल्टै धम्की पाएको दाबी साहको छ । यसले मन्त्रीको प्रत्यक्ष या अप्रत्यक्ष संलग्नतामाथि गम्भीर शंका उठाएको छ ।

साहले मन्त्रालयमा पटक–पटक पत्राचार र मौखिक गुनासो गर्दा समेत कुनै सुनुवाइ नभएको र उल्टै ‘थर्काउने’ शैलीमा व्यवहार गरिएको आरोप लगाए ।

हाल आरके साहले ठगी, चेक बाउन्स र रकम फिर्ता सम्बन्धमा प्रहरी उजुरी दर्ता गराएका छन् । धनुषा प्रहरी कार्यालयले यस विषयमा प्रारम्भिक छलफलको लागि कापरीलाई बोलाएको छ भने अब कानुनी प्रक्रिया अगाडि बढ्ने सम्भावना छ ।

यस घटनाले मधेश प्रदेश सरकारको पारदर्शिता र मन्त्रीहरूको नैतिक आचरणमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टीगत संरक्षण, कमिसन र व्यापारिक चलखेलका विषयमा राजनीति जोडिँदा स्थानीय व्यवसायीहरू कसरी शोषित भइरहेका छन् भन्ने उदाहरण बनेको छ यो प्रकरण ।