महोत्तरी, चैत २८ गते । वैशाख ६ र ७ गते महोत्तरी जिल्लाभरि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ। कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्य कार्यालय महोत्तरीले सबै पक्षलाई सहकार्यका लागि आग्रह गरेको छ।

पोषण विशेष तथा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरुलाई अभियानको प्रचारप्रसारमा सहयोग गर्न अनुरोध गरेको हो।

कार्यालयकी पोषण कार्यक्रमकी फोकल पर्सन प्रतिभा सिंहका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत निःशुल्क खुवाइनेछ। साथै, वालभिटा वितरण र पोषण सम्बन्धी चेकजाँच पनि गरिनेछ।

उहाँले वर्षमा दुईपटक सञ्चालन गरिने यो राष्ट्रिय अभियान वैशाख ६ र ७ गते जिल्लाका सबै पालिकामा एकसाथ सञ्चालन हुने जानकारी दिँदै कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्यले व्यापक प्रचारप्रसार आवश्यक भएको बताउनुभयो।

महोत्तरी जिल्लामा कूल ५१ हजार ४७७ बालबालिकालाई लक्षित गरी यो अभियान सञ्चालन हुने जनाएको छ। प्रत्येक पालिकाका वडामा रहेका टोल–टोलमा स्वयंसेविकामार्फत औषधि खुवाइने छ, र अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै औषधि खुवाउन अनुरोध गरिएको छ।

स्वस्थ आँखाको संरक्षण तथा बालबालिकाको समुचित वृद्धि–विकासका लागि भिटामिन ‘ए’ को महत्वपूर्ण भूमिका रहेको समेत जनाइएको छ।