बारा, चैत ३० गते। बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा केही महिनाअघि देखिएको भ्रष्टाचार प्रकरण फेरि चर्चामा आएको छ। तत्कालीन प्रशासकीय प्रमुख विरेन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विधायक होटलका सञ्चालकका छोरा दिपेश यादवबाट घुस लिँदै गरेको आरोपमा रंगेहात पक्राउ गरेको थियो। हाल सो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

साह पक्राउ परेका केही दिनभित्रै हरिओम प्रसाद जैसवाल सिम्रौनगढ नगरपालिकाको प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हाल्न पुगेका थिए। यतिबेला, सामाजिक सञ्जालमा एउटा अडियो सार्वजनिक भएको छ, जसमा हालका प्रशासकीय अधिकृत जैसवाल र घुस दिएको भनिएको व्यक्ति दिपेश यादवबीचको संवाद रहेको दाबी गरिएको छ।

यसै सन्दर्भमा चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत यो विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सार्वजनिक रुपमा अडियो प्रकरणको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

उनले भनेका छन्, ‘यदि यस्तो प्रकारको षड्यन्त्रकारी गतिविधि सत्य हो भने सिङ्गो कर्मचारी तन्त्र नै भाडभैलोमा पर्न सक्ने अवस्था आउन सक्छ। यस विषयमा सम्बन्धित निकायहरूले तुरुन्त ध्यान दिनु आवश्यक छ।

यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयलाई छानबिनका लागि अपिल गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरेका छन्।

हालसम्म सम्बन्धित पक्षहरूबाट आधिकारिक प्रतिक्रिया आइनसकेको भए पनि, अडियो सत्य हो वा होइन भन्नेबारे सत्यतथ्य छानबिन हुनु आवश्यक देखिन्छ।