जनकपुरधाम, चैत ३१ गते । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत ९निजी० विद्यालयमा आगामी शैक्षिक सत्र २०८२ देखि एकरूप पाठ्यपुस्तक लागू गरिने भएको छ। नगर शिक्षा समिति, शिक्षा तथा खेलकुद विकास शाखा तथा विद्यालयहरुको छाता संगठनहरुको सिफारिसका आधारमा उपमहानगरले उक्त निर्णयलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न लागेको हो।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले भने, “यसअघि विद्यालयहरूले समयमै पाठ्यपुस्तक विवरण नपठाएको र विविध प्रकारका पुस्तकहरू प्रयोग गर्दा शिक्षामा गुणस्तरमा असमानता देखिएको थियो। अबदेखि विद्यार्थीलाई समान अवसर र गुणस्तरको शिक्षा दिन एकरूपता आवश्यक भएको हो।”

नगर शिक्षा समिति सदस्य तथा एनप्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले पनि यस निर्णयको स्वागत गर्दै भने, “शिक्षामा देखिएको भेदभाव हटाउन अब एकै पाठ्यपुस्तक आवश्यक छ। सबै विद्यार्थी एउटै स्रोतबाट पढ्दा सिकाइको मापदण्ड बराबरी हुन्छ, मूल्यांकनमा पारदर्शिता आउँछ र शिक्षण पद्धति सुधार हुन्छ।”

उनका अनुसार शिक्षा व्यापारिकरणतर्फ गइरहेको भन्दै बढेका गुनासोहरू अब पाठ्यपुस्तक एकरूपता लागू भएसँगै क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ।उपमहानगरपालिकाले पाठ्यपुस्तकको छनोटमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पुस्तक मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त सहकार्यबाट मात्र यसको प्रभावकारी कार्यान्वयन सम्भव हुने शिक्षा शाखाले स्पष्ट पारेको छ।

शाखा प्रमुख कर्णका अनुसार “यदि कसैले यस निर्णयको अवज्ञा गरेमा, शिक्षा ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइनेछ। हामी नियमित अनुगमन गर्नेछौं।”नगर क्षेत्रका सार्वजनिक, संस्थागत, गुठी तथा निजी गुठी अन्तर्गतका सबै विद्यालयले अब स्वीकृत पाठ्यपुस्तकमात्र प्रयोग गर्नुपर्नेछ।यस निर्णयपछि अभिभावकहरूले लामो समयदेखि गर्दै आएका गुनासो—फरक–फरक पुस्तक र शैक्षिक सामग्रीका कारण परेको आर्थिक भार—समेत घट्ने अपेक्षा गरिएको छ।