जनकपुरधाम, चैत ३१ गते । वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्रामाथि ढुंगा प्रहार भएको घटनाको विरोध जनकपुरधाममा पनि तीव्र बनेको छ। राष्ट्रिय एकता अभियानको अगुवाइमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरू आक्रोशित देखिए।

प्रदर्शनकारीहरूले घटनालाई धार्मिक सहिष्णुता र सामाजिक सद्भावमाथिको गम्भीर आक्रमणको रूपमा व्याख्या गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाए। गृहमन्त्रालयलाई निष्क्रिय ठहर गर्दै प्रदर्शनको क्रममा गृहमन्त्रीको पुतला दहनसमेत गरिएको थियो।

अभियानका प्रतिनिधि दीपक साहले भने, “धार्मिक स्वतन्त्रतामाथि खुला आक्रमण हुँदा पनि सरकार अपराधीलाई संरक्षण गर्न तल्लीन छ। यो कुनै सामान्य घटना होइन, देशको सहिष्णुता, शान्ति र संविधानप्रदत्त धार्मिक स्वतन्त्रतामाथिको सीधा प्रहार हो।”

प्रदर्शनमा सहभागीहरूले ‘सर्वपक्षीय बैठकको नाटक बन्द गर’, ‘दोषीलाई तत्काल गिरफ्तार गर’, ‘धार्मिक हिंसा बन्द गर’ लगायतका नारा लगाउँदै जनकपुरधामका विभिन्न क्षेत्रमा जुलुस निकाले। उनीहरूले शोभायात्रामाथिको आक्रमणलाई निन्दनीय भन्दै सुरक्षाको नाममा अपराधीलाई जोगाउने कार्य असह्य भएको बताए।

प्रदर्शनकारीहरूले चेतावनी दिँदै भनेका छन् कि यदि दोषीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गरिएन भने देशव्यापी कडा आन्दोलन गरिनेछ। अभियानका एक प्रतिनिधिले भने, “धार्मिक आस्थामाथि गरिएको यस्तो अराजक गतिविधिको सरकारलाई जस्तोसुकै मूल्य चुकाउन तयार रहनु पर्नेछ।”