जनकपुरधाम,चैत ३१ गते । धनौजी गाउँपालिकाका उपाध्यक्ष रामवती देवी मण्डलसहित सात जना कार्यपालिका सदस्यहरूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माको तत्काल सरुवाको माग गरेका छन्।

उनीहरूले गाउँपालिका अध्यक्षलाई बुझाइएको निवेदनमार्फत शर्माको विगतको कार्यशैली र व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै, आर्थिक अनियमितताको आरोपसमेत लगाएका छन्। कार्यपालिका सदस्यहरूको दाबी अनुसार प्रमुख प्रशासकीय अधिकृत शर्माले विभिन्न शीर्षकमा रकम हिनामिना गरेका छन्, जुन कुरा खर्च प्रतिवेदनबाट स्पष्ट देखिएको छ।

“हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नआएको र अझ अनियमितता बढ्दै गएको देखिएकोले उहाँको तत्काल सरुवा आवश्यक देखिएको हो,” निवेदनमा उल्लेख गरिएको छ।

उक्त निवेदनको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौँमा समेत पठाइएको जनाइएको छ।