जनकपुरधाम, २ वैशाख । जनकपुरधामको फोहोरयुक्त टोलहरूलाई स्वच्छ र हरित बनाउन अब स्थानीय युवा आफैं अग्रपंक्तिमा उभिन थालेका छन् । ’प्लास्टिकको प्रयोग घटाऔँ, स्वच्छ टोल बनाऔँ’ भन्ने नारासहित युवाहरूले घरदैलो अभियानमार्फत समुदायमा वातावरणप्रतिको चेतना फैलाइरहेका छन् ।

यस अभियानको नेतृत्व कार्ड नेपालले गरेको हो । कार्ड नेपालले ग्रीनसिफ्ट नेपाल परियोजनाअन्तर्गत युरोपियन यूनियनको सहयोगमा युवालाई वातावरणीय परिवर्तनको पहरेदार बनाउन काम गरिरहेको छ । क्रिएशन, रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबसँगको साझेदारीमा सञ्चालित यो परियोजना अन्तर्गत युवाहरू प्लास्टिक न्यूनिकरण, सरसफाइ प्रवद्र्धन र वातावरणीय नेतृत्वका विषयमा सक्रिय छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ अन्तर्गत परिक्रमा सडकदेखि क्याम्पस चोकसम्मको क्षेत्रमा युवाहरूको टोलीले घरदैलो गर्दै समुदायसँग प्रत्यक्ष संवाद गर्यो । उनीहरूले प्लास्टिकको हानिकारक प्रभाव, फोहोरको वर्गीकरण र दीर्घकालीन समाधानबारे जानकारी दिंदै स्थानीयसँग सहकार्य गरे । टोलीले डस्टबिन राख्न उपयुक्त स्थानहरू पनि चिन्हित गर्यो ।

कार्ड नेपालका युवा स्वयंसेवक अनुज झा भन्छन्, ‘हामीले केवल भाषण होइन, व्यवहारमा परिवर्तन ल्याउन चाहन्छौं । यस अभियानले युवालाई नेतृत्वको अवसर दिएको छ ।’

यस अभियानको पृष्ठभूमिमा चैत्र ३० गतेको मोडल टोल डिजाइन कार्यशाला र त्यसपछिको फलोअप बैठकले समुदायभित्र सशक्त बहसको वातावरण सिर्जना गरेको थियो । युवाहरूले सरसफाइ, प्लास्टिक न्यूनीकरण र वातावरणीय न्यायका विषयमा स्थानीय बासिन्दासँग सम्वाद गर्दै व्यवहारमै लागू गर्ने काम थालेका छन् ।

अभियानमा युवाको सक्रियता देखिए पनि टोलका अगुवा र अभिभावकले समेत पूर्ण समर्थन जनाएका छन् । एक स्थानीय महिला अगुवा भन्छिन्, ‘हाम्रा छोराछोरीहरूले यस्तो राम्रो काम थालेको देखेर गर्व लाग्छ । हामी पनि साथ दिन तयार छौँ ।’

आजको पुस्ताले वातावरणीय संकटको असर झन् बढी महसुस गरिरहेको छ । प्लास्टिक, प्रदूषण र फोहोर व्यवस्थापन जस्ता विषयमा उनीहरूको सचेतता र सक्रियता अब व्यवहारमा रूपान्तरण हुँदै गएको देखिन्छ ।