जनकपुरधाम,वैशाख २ गते । राष्ट्रिय मुक्ती पार्टीका नेता रमन पाण्डेयले जनकपुरधामस्थित गंगा सागर क्षेत्रको विवादित जग्गालाई लिएर गुठी संस्थानमाथि गम्भीर आरोप लगाएका छन्। उनले हालसालै एक वक्तव्य जारी गर्दै गुठी संस्थानले सहीद रामनारायण बाबूको स्मारक निर्माणमा अवरोध गर्दै आएको र यसको पछाडि ‘लाल आतंकी प्रभाव’रहेको आशंका व्यक्त गरेका छन्।

पाण्डेयका अनुसार, स्मारक निर्माणको लागि प्रस्तावित जमिन प्रमाण पूर्जासहितको पुस्तैनी निजी सम्पत्ति हो, जसमा कुनै पनि किसिमको गुठी संस्थानको दाबी कानूनविपरीत छ। संविधानले निजी सम्पत्तिको अधिकारलाई सुनिश्चित गरिसकेको अवस्थामा गुठी संस्थानले स्मारकमा अवरोध गर्नु आफैंमा लोकतान्त्रिक मूल्य र आचरणविरुद्ध भएको उनको तर्क छ।

पाण्डेयले गुठी संस्थानलाई जनकपुरधाम क्षेत्रको अवैध बस्ती विस्तारमा संलग्न भएको र संस्थानकै प्रशासकहरू निजी जमिन कब्जा गराउन खोजिरहेको आरोप समेत लगाएका छन्। उनले चुनौती दिएका छन् कि यदि गुठी संस्थान निष्पक्ष र पारदर्शी छ भने सम्पूर्ण जनकपुरधाम क्षेत्रको नाप(नक्सा र जग्गा विवरण सार्वजनिक रूपमा परीक्षण गरियोस्।

पाण्डेयले स्मरण गराउँदै भनेका छन्, “रामनारायण बाबूको अन्तिम संस्कार सोही प्रमाण पूर्जा भएको निजी जग्गामा गरिएको थियो, त्यसैले स्मारक निर्माणको सम्पूर्ण अधिकार पनि त्यही जग्गाधनीसँग रहन्छ।” यदि कसैले निजी सम्पत्ति कब्जा गरेको छ भने त्यो कब्जा हटाइ नाप(नक्सा अनुसार वास्तविक जग्गाधनीलाई जिम्मा दिने काम राज्यको कानूनी दायित्व भएको उनको जोड थियो।

आफ्नो अन्त्यमा पाण्डेयले राजनीतिक आस्थाभन्दा माथि उठेर सत्य र असत्यको बीचमा सत्यको पक्षमा उभिनुपर्ने सन्देश दिएका छन्। “हामी सबैको राजनीतिक आस्था फरक हुन सक्छ, तर सत्यसँगको संगत नै लोकतान्त्रिक संस्कारको आधार हो,” उनले भने।

यो प्रकरणले जनकपुरधाममा निजी सम्पत्ति र गुठीको स्वामित्व सम्बन्धी पुराना विवादलाई पुनः चुल्याएको छ। अब हेर्न बाँकी छ — गुठी संस्थान यसबारे के प्रतिक्रिया दिन्छ र स्थानीय प्रशासन कसरी हस्तक्षेप गर्छ।