जनकपुरधाम, वैशाख ३ गते। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा प्रयोग गरिने पाठ्यपुस्तकमाथि एकरूपता ल्याउने निर्णय गरेपछि पुस्तक व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य संघ, अभिभावक संघ लगायतका सरोकारवाला निकायहरूले औपचारिक रूपमा धन्यवाद प्रकट गरेका छन्।

निजी विद्यालयहरूले आ–आफ्नै ढंगले पाठ्यपुस्तक छनोट गर्दा बजारमा अनियन्त्रित प्रतिस्पर्धा, अभिभावकमाथि आर्थिक भार तथा विद्यार्थीहरूमा पाठ्यक्रमगत भ्रम सिर्जना भइरहेको बेला उपमहानगरपालिकाले सार्वजनिक गरेको ‘एकीकृत पाठ्यपुस्तक सूची’ले यस्तो समस्याको समाधानतर्फ मार्ग प्रशस्त गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।

पुस्तक व्यवसायी संघका प्रतिनिधि बजरंग यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पाठ्यपुस्तक विवरण–सूची समयसापेक्ष र सम्पूर्ण शैक्षिक क्षेत्रका लागि स्वागतयोग्य निर्णय हो।”

पत्रमा हाल प्रकाशित सूची विपरीत बजारमा केही फरक पाठ्यपुस्तक देखिएको उल्लेख गर्दै सम्बन्धित पक्षहरूलाई सचेत गराइएको छ। साथै, विद्यालयहरूमा उपमहानगरको निर्णय लागू गराउन कडा अनुगमनको माग गरिएको छ।

यो निर्णयले निजी विद्यालयहरूमा पाठ्यक्रमको एकरूपता, अभिभावकका लागि आर्थिक सहजता, विद्यार्थीहरूका लागि समान शैक्षिक सामग्रीको पहुँच, र शैक्षिक व्यवसायमा समन्वय बढाउने विश्वास व्यक्त गरिएको छ।

बजारमा मुनाफामुखी प्रवृत्तिले शिक्षा क्षेत्रको नैतिकतामाथि उठाएको प्रश्नको जवाफस्वरूप यो निर्णयले शिक्षा प्रणालीलाई अनुशासित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।