वीरगन्ज, वैशाख ३ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीको अवसरमा वीरगन्जमा उत्पन्न धार्मिक तनावपश्चात् सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको विवाद र त्यसपछि भएको हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले सम्बन्धित प्रशासनिक तथा प्रहरी निकायलाई जनजीवन सामान्य बनाउन निरन्तर समन्वयमा रहन निर्देशन दिएको प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक, सांस्कृतिक र जातीय समुदायबीच आपसी सम्मान र भाइचारा रहनु नै शान्ति तथा सहिष्णुताको आधार हो। सामाजिक सद्भावमा खलल पुर्‍याउने जोसुकैमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ।’

मुख्यमन्त्री सिंहले वीरगन्जजस्तो धार्मिक र सांस्कृतिक विविधता बोकेको सहरमा कुनै पनि बहानामा अशान्ति ल्याउने प्रयासलाई दुर्भाग्यपूर्ण र चिन्ताजनक भनेका छन्।

शान्ति कायम गर्न मन्त्री यादवको आग्रह

खानेपानी मन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत वीरगन्जको शान्ति खलल गर्ने कार्यप्रति आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। उनले समुदायबीचको सौहार्द र सद्भाव कायम गर्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको सहकार्य आवश्यक भएको उल्लेख गरेका छन्।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले शनिबारको घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। मंगलबार निषेधाज्ञा उल्लंघन गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने दुई जना पनि पक्राउ परेका छन्।

यसैबीच, मंगलबार साँझ भएको प्रदर्शनमा पत्रकार अर्जुन गुप्ता, अनिल ओझा र धीरेन्द्र तिवारी घाइते भएको नेपाल पत्रकार महासंघ, पर्सा शाखाले जनाएको छ। विभिन्न स्थानमा अझै पनि प्रदर्शन जारी रहेको र टायर जलाउने घटनाहरू भइरहेको प्रहरीले जनाएको छ।