जनकपुरधाम, वैशाख ४ गते । धनुषा जिल्लाको लक्ष्मिनीया गाउँपालिकास्थित त्रिदेव अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आफ्नो २५औं स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्यताका साथ सम्पन्न गरेको छ।

विगत २५ वर्षदेखि मधेशको ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको उज्यालो फैलाउँदै आएको यस विद्यालयले सामाजिक उत्तरदायित्व पनि उत्तिकै प्रभावकारी रूपमा वहन गर्दै आएको सहभागी वक्ताहरूले बताएका छन्।

समारोहका प्रमुख अतिथि पूर्वराजदूत प्रा।डा। रामस्वार्थ रायले त्रिदेव विद्यालयले ग्रामीण क्षेत्रमा अंग्रेजी माध्यमको शिक्षालाई सुलभ बनाउँदै आएकोमा प्रशंसा व्यक्त गरे। उनले भने, ‘शिक्षा भनेको समाजको मेरुदण्ड हो। त्यसलाई मजबुत बनाउने कार्य त्रिदेवले एक समर्पित शिक्षालयको रूपमा गर्दै आएको छ।’

उनले विज्ञान, प्रविधि र नैतिकताको समिश्रणमा आधारित शिक्षाको आवश्यकता औंल्याउँदै शिक्षामार्फत सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखे।

विशिष्ट अतिथि तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले विद्यालयले गुणस्तरीय शिक्षासँगै संस्कार, संस्कृति र सामाजिक भावनाको संरक्षणमा पनि योगदान पुर्‍याएको बताए। ‘आजका विद्यार्थी भोलिका नेता, वैज्ञानिक र समाजसेवी हुन्। त्यसकारण विद्यालयको दायित्व अझ ठूलो छ,’ उनले जोड दिए।

कार्यक्रममा प्याब्सनका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले त्रिदेव विद्यालयले विगत २५ वर्षमा आधुनिक शिक्षण पद्धति आत्मसात गर्दै आफूलाई ग्रामीण शिक्षा क्षेत्रमा सफलतापूर्वक स्थापित गरेको उल्लेख गरे।

लक्ष्मिनीया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झाले विद्यालयले गाउँपालिकाको शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पालिकाले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका संस्थापक ब्रम्हदेव यादवको अध्यक्षतामा सम्पन्न समारोहमा सञ्चालक नवल यादवले सबै अतिथि, अभिभावक र शिक्षकहरूलाई स्वागत गर्दै विद्यालयलाई अझ प्रगतिशील बनाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा कबिर बाल आश्रमका सञ्चालक सन्त आलोकलाई विद्यालय परिवारद्वारा सम्मान गरिएको थियो। साथै, बाल आश्रमका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री (कापी–कलम) प्रदान गरिएको थियो।

विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम, विशेष गरी जातीय तथा लोक नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।