जनकपुरधाम, वैशाख ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका उपसभामुखहरूलाई आफ्नो कार्यकक्षमा स्वागत तथा सम्मान गरेका छन्।

बिहीबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उपस्थित अतिथिहरूलाई खादा लगाई सम्मान गरेका थिए।

यस अवसरमा जनकपुरमा आयोजित विशेष सम्मेलनमा सहभागी उपसभामुखहरूले संसदीय अभ्यासमा आफ्नो भूमिका तथा नीतिगत सुधारका विविध पक्षमा अनुभव आदानप्रदान गरेका थिए। सम्मेलनको उद्देश्य उपसभामुखहरूको भूमिकालाई अझ प्रभावकारी, फराकिलो र समन्वयात्मक बनाउनु रहेको थियो।

कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले गरिन्। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिता कुमारी राउत ईश्वर, सातै प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीराज दहालले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

उपसभामुखहरूले प्रदेश सभामा निर्वाह गर्दै आएको भूमिकाप्रति सन्तुष्टि व्यक्त गर्दै भूमिकालाई अझ सशक्त बनाउनु आवश्यक रहेको बताए। विशेषगरी, विभिन्न राजनीतिक दलहरूसँग समन्वयलाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए।

सम्मेलनको अन्त्यमा ‘सात बुँदे जनकपुर घोषणापत्र २०८२’ जारी गर्दै कार्यक्रम सम्पन्न भएको थियो।