जनकपुरधाम, वैशाख ५ गते। नेपाल अडिटर्स एशोसिएशन (अडान) मधेश प्रदेशको सातौं प्रदेश अधिवेशन जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रमा पेशागत निष्ठा, पारदर्शिता, नियमन र आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जोड दिइएको छ ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष केदारनाथ पौडेल प्रमुख अतिथिका रूपमा सहभागी रहे भने आइक्यानका केन्द्रिय अध्यक्ष प्रविण कुमार झा र अडानका वरिष्ठ उपाध्यक्ष बद्री भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिए । अधिवेशनको अध्यक्षता अडान मधेश प्रदेश अध्यक्ष शोभाकान्त झाले गरेका थिए ।

प्रमुख अतिथि अडानका केन्द्रिय अध्यक्ष पौडेलले अडिटरहरू राष्ट्रका आर्थिक प्रहरी भएको उल्लेख गर्दै पेशागत इमानदारी, पारदर्शिता र निष्पक्षता नै अडिट पेशाको मूल आत्मा भएको बताए ।

उनले भने, ‘अहिलेको चुनौतीपूर्ण समयमा अडिटरहरूले आफ्नो भूमिकालाई अझ जिम्मेवार र उत्तरदायी बनाउँदै समाजमा विश्वास बढाउने काम गर्नुपर्छ ।’

उनले नियामक संस्था आइक्यानसँग समन्वय गर्दै संस्थागत सुधारका लागि निरन्तर पहल गरिरहेको जानकारी पनि दिए ।

विशिष्ट अतिथि तथा आइक्यानका अध्यक्ष प्रविण कुमार झाले अडिट पेशाको साख जोगाउन प्रत्येक अडिटरले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले गर्ने हरेक काम जनताको विश्वास र संस्थागत अनुशासनसँग जोडिएको हुन्छ । सानो गल्तीले पनि पेशाको छवि धूमिल हुन सक्छ ।’

उनले पेशागत अपग्रेडेसनका लागि आइक्यानले नयाँ तालिम र प्रणालीहरू ल्याइरहेको जानकारी गराउँदै अडानसँग सहकार्यलाई अझ मजबुत बनाइने बताए ।

अर्का विशिष्ट अतिथि तथा अडानका वरिष्ठ उपाध्यक्ष बद्री भट्टराईले अडानलाई अझ सशक्त, सुदृढ र समावेशी बनाउन सबै तहबाट योगदान आवश्यक रहेको धारणा राखे ।

उनले भने, ‘प्रदेश, जिल्ला र स्थानीय तहसम्म अडिट पेशाको सुदृढ उपस्थितिको लागि हाम्रो संरचना मात्र नभई सोचमा पनि विस्तार गर्नुपर्छ ।’

उनले आगामी दिनमा अडिट पेशा अझ चुनौतीपूर्ण हुने भन्दै प्रविधिसँग समायोजनको आवश्यकता औंल्याए ।

कार्यक्रमका अध्यक्ष तथा अडान मधेश प्रदेश अध्यक्ष शोभाकान्त झाले प्रदेश अधिवेशन अडिटरहरूको पेशागत क्षमता अभिवृद्धि, संगठनात्मक एकता र नीतिगत बहसको थलो भएको बताए ।

उनले भने, ‘अडान मधेश प्रदेशले संस्थागत विकास, सदस्य विस्तार, तालिम सञ्चालन र नीति संवादलाई प्राथमिकता दिएको छ । आगामी कार्यकालमा यी एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ ।’

अधिवेशनमा सूर्य अधिकारी, प्रदीप यादव, बहादुर सिंह विष्ट, हरि कार्की, राजन ढुंगाना, राम गोपाल महर्जन, बलाराम चौधरी, मेघराज पौडेल, उमेश मिश्र, सूर्य नारायण झा, राजकुमार झा, सन्तोष साह, दिनानाथ रौनियार र उग्रकान्त झा लगायत विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सातौं अधिवेशनले अडिट पेशामा देखिएका चुनौती, अवसर र सुधारका बिन्दुमाथि व्यापक छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ । कार्यक्रममा पारित प्रस्तावमार्फत प्रदेशस्तरीय कार्यसमिति चयन तथा नीति निर्माण प्रक्रिया अघि बढाइएको छ ।