जनकपुरधाम, ५ वैशाख । नेपालका वरिष्ठ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी विशेषज्ञ डा. राकेश कुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ESGE) बाट प्रतिष्ठित Fellow of the European Society of Gastrointestinal Endoscopy (FESGE) डिग्री प्राप्त गरेर देशको नाम अन्तर्राष्ट्रिय चिकित्सा मञ्चमा उच्च बनाएका छन् । उनी यो उपाधि प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक भएका छन् ।

एसियाली मुलुकहरूबाट यस वर्ष जम्मा दुई जना चिकित्सकले यो डिग्री पाएका छन्, जसमा भारतका प्रख्यात चिकित्सक डा. नागेश्वर रेड्डी र नेपालका डा. झा छन् । यो डिग्री ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, शैक्षिक योगदान, व्यवसायिक सेवा र क्लिनिकल कार्यक्षमता आदिमा उत्कृष्टता हासिल गरेका व्यक्तिहरूलाई मात्र प्रदान गरिन्छ ।

FESGE डिग्री प्राप्त गर्नका लागि कम्तीमा १० वर्षसम्म भ्क्न्भ् सँग आबद्ध रहनुका साथै दुई महत्वपूर्ण मोड्युलहरू — मोड्युल (१) र मोड्युल (२) — सफलतापूर्वक सम्पन्न गर्नुपर्ने हुन्छ । डा. झाले सन् २०१३ मा बेलायतको जेनरल इन्फर्मरी, लिड्स युनिभर्सिटीबाट मोड्युल (१) र सन् २०१७ मा भारतको हैदरावादस्थित एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजीबाट मोड्युल (२) पुरा गरेका थिए ।

यस वर्ष ESGE ले विश्वभरका १२ जना योग्य चिकित्सकहरूलाई मात्र यो डिग्री प्रदान गरेको छ, जसमा डा. झाको समावेशले नेपालको चिकित्सा प्रतिष्ठालाई एक कदम अगाडि बढाएको छ ।

डा. झा हाल वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक एन्ड इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन् । उनले करिब दुई दशकदेखि ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरूको उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा क्रियाशील योगदान दिँदै आएका छन् ।

‘एफइएसजीई उपाधि मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो । यसले विश्व चिकित्सा क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ,’ डा. झाले प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो उपलब्धिलाई व्यक्तिगत सफलता मात्र नभइ समग्र नेपाली चिकित्सा क्षेत्रको उन्नतिको संकेतको रूपमा लिएको बताएका छन् ।

ग्यास्ट्रो इन्टेस्टाइनल एन्डोस्कोपीजस्ता जटिल प्रक्रियाहरूमा दक्षता हासिल गरेका डा. झा नेपालमा यस विधाको प्रवद्र्धन, शिक्षण तथा सेवा विस्तारमा पनि अग्रणी रहँदै आएका छन् । उनका अनुसार नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका सेवा र तालिम दिन सकिने सम्भावना छ । तर, त्यसका लागि सरकारी नीति, पूर्वाधार र अनुसन्धानमैत्री वातावरण आवश्यक छ ।

FESGE डिग्री पाउने नेपाली डाक्टरका रूपमा डा. झाले खोलिदिएको ढोका अन्य नेपाली चिकित्सकका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ । चिकित्सा विज्ञानमा अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्दै अघि बढिरहेका डा. झालाई नेपालभरि बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।