जनकपुरधाम, ५ वैशाख । जनकपुरधामका युवाहरूले मानव सेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै मित्र युवा संगतिद्वारा आयोजित रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका छन् । ‘रक्तदान, जीवनदान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा ४५ जना युवायुवतीले स्वेच्छिक रक्तदान गरेका छन् ।

गर्मीको मौसम र कठोर घामको बष्पिबतष् पनि प्रवाह नगरी बिहानैदेखि रक्तदान केन्द्रमा युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । युवाहरूको यो सक्रियता सामाजिक उत्तरदायित्वप्रति बढ्दो जागरुकताको स्पष्ट संकेत मानिएको छ ।

मित्र युवा संगतिका प्रतिनिधि अखिल मढीले रक्तदानलाई औपचारिकतामा सीमित नराखी जीवन र मृत्युको सीमामा रहेका बिरामीहरूको सहायताका लागि संकल्पको रूपमा अगाडि सारेको बताए । ‘हामी केवल कार्यक्रम गर्न होइन, रगत नपाएर कुनै पनि व्यक्ति ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ यो अभियान सञ्चालन गरेका हौं,’ उनले भने ।

उनले यस्तो अभियानलाई निरन्तरता दिँदै जनकपुरधामका सबै वडामा युवाको नेतृत्वमा रक्तदान कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए ।

कार्यक्रममा सहभागी युवाहरूले रक्तदानलाई आफ्नो जीवनको गर्विलो क्षणका रूपमा लिएका छन् । पहिलो पटक रक्तदान गरेकी एक युवतीले भनिन्, ‘मैले कहिल्यै रक्तदान गरेकी थिइनँ, तर आज थाहा भयो कि मेरो रगतले कसैको जीवन बच्न सक्छ। योभन्दा ठूलो खुसी अरू केही हुन सक्दैन ।’

अन्य सहभागीहरू पनि समाजका लागि केही योगदान गर्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ धेरै युवालाई रक्तदान अभियानमा सहभागी गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो । उनीहरूले रक्त संकलनका क्रममा आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएका थिए । रगत संकलन, परीक्षण र सुरक्षित भण्डारणको प्रक्रिया सम्पूर्ण रूपमा व्यवस्थित गरिएको थियो ।

संकलित रगतहरू स्थानीय अस्पतालहरू र आपतकालीन स्वास्थ्य सेवाका लागि पठाइनेछ, जसले आकस्मिक अवस्थामा बिरामीको उपचारमा मद्दत पुर्याउनेछ ।