महोत्तरी, ५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी जिल्लामा पहिलोपटक आयोजित ऐतिहासिक जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

३३४ जना मतदाता रहेको अधिवेशनमा ३०९ जनाले मतदान गर्दै लोकतान्त्रिक अभ्यासको नयाँ मिसाल प्रस्तुत गरेका छन् । यो अधिवेशन पार्टीको २५ वर्ष लामो राजनीतिक यात्रामा पहिलोपटक खुला निर्वाचन प्रक्रिया अपनाएर सम्पन्न भएको हो ।

जसपाको पूर्ववर्ती संरचना मधेसी जनअधिकार फोरम नेपालदेखि अहिलेको जसपा नेपालसम्मको यात्रामा यसअघि कहिल्यै संगठनात्मक निर्वाचन लोकतान्त्रिक प्रक्रियाबाट भएको थिएन । तर, यसपटकको जिल्ला अधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने संकेत दिएको नेताहरूको भनाइ छ ।

अधिवेशनको विशेषता भनेको बिना हस्तक्षेप र पारदर्शी रूपमा मताधिकार प्रयोग भएको हो । निर्वाचन प्रक्रियामा सहभागिता जनाउने ३०९ प्रतिनिधिले आफ्नो मत प्रयोग गर्दा उम्मेदवारहरूबीच प्रतिस्पर्धा पनि निकै चाखलाग्दो रहेको थियो । निर्वाचनको सम्पूर्ण प्रक्रिया स्वतन्त्र निर्वाचन समितिले व्यवस्थापन गरेको थियो ।

अधिवेशनमा सहभागी नेताहरूले यसलाई पार्टीको इतिहासमै नयाँ मोडको रूपमा ब्याख्या गरेका छन् । जसपा नेपालका नेता रामकुमार शर्माले भने, ‘हामीले आन्दोलन गरेर ल्याएको लोकतन्त्रलाई अब आफ्नै पार्टीभित्र व्यवहारमा उतार्न थालेका छौं । यही हो साँचो राजनीतिक परिपक्वता ।’

अधिवेशनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा संगठन विस्तार, स्थानीयस्तरको सशक्तीकरण र आगामी निर्वाचनहरूका लागि तयारीलाई प्राथमिकता दिने उल्लेख छ । नेतृत्वले आगामी दिनमा जिल्ला र पालिकास्तरमा समेत यस्तै लोकतान्त्रिक अभ्यास गर्ने संकेत दिएको छ ।