जनकपुरधाम, वैशाख ७ गते । धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जनकपुरधामको विवाह मण्डपस्थित आकर्षणको केन्द्र मानिएको फाउन्टेन (झरना) वर्षौंदेखि बन्द अवस्थामा रहेको छ । कुनै समय विवाह मण्डपमा आउने पर्यटक र स्थानीयवासीको ध्यान केन्द्रित गर्ने यो फाउन्टेन लामो समयदेखि अव्यवस्थित र उपेक्षित छ, जसका कारण विवाह मण्डपको सौन्दर्य र आकर्षणमा गिरावट आएको छ ।

स्थानीय नागरिकहरूका अनुसार, फाउन्टेन सुचारु अवस्थामा रहँदा विवाह मण्डप परिसर रमणीय देखिन्थ्यो, जहाँ परिवारसहित घुम्न आउने मानिसहरू घण्टौं समय बिताउने गर्थे । विशेषतः साँझको समयमा झिलिमिली बत्ती र पानीको नृत्यले पर्यटकहरूलाई लोभ्याउने गथ्र्यो । तर अहिले यसको जति महत्व थियो, त्यो बिस्तारै हराउँदै गएको छ ।

फाउन्टेनको लामो समयदेखिको बन्दावस्थाका कारण पार्क वरिपरि पनि सरसफाइको अभाव देखिन्छ । झारपातले भरिएको क्षेत्र, पानीको ट्याङ्कीमा थुप्रिएको फोहोर र बिग्रिएको संरचनाले विवाह मण्डपको छवि धमिल्याएको छ ।

फाउन्टेनलाई आवश्यक मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने र विवाह मण्डप क्षेत्रको समग्र सफाइ र व्यवस्थापन सुधार गर्न सकेमा यहाँको पर्यटकीय सम्भावना अझ बढ्न सक्ने स्थानीयबासी सुशील कर्णको भनाई छ ।