रौतहट, वैशाख ७ गते । रौतहट जिल्लाको परोहा नगरपालिका कार्यालयमा भइरहेको बेथिति, अनियमितता र प्रशासनिक ढिलासुस्तीको विरोधमा एक जनाले अनौठो शैली अपनाउँदै नाङ्गो भएर अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

लौकाहा स्थित नगरपालिकाको केन्द्रबिन्दुमा आइतबारदेखि परोहा नगरपालिका–८ नरकटिया टोलका स्थानीय बासिन्दा मो. जफिर आलमले कपडाविनै शारीरिक रूपमा अनिश्चितकालीनरुपमा धर्ना सुरु गरेका हुन । उनका अनुसार, नगरपालिकामा सार्वजनिक सेवा प्रवाहमा लापरवाही, बजेटको दुरुपयोग, जनप्रतिनिधिहरूको गैरजिम्मेवार रवैया र नागरिकप्रति असंवेदनशीलता चरम अवस्थामा पुगेको छ ।

“जबसम्म मेरो आवाज सुनिदैन र नगरपालिकाले सुधारको स्पष्ट योजना सार्वजनिक गर्दैन, तबसम्म म यसैगरी आमरण अनशन बसिरहनेछु,” जफिर आलमले पत्रकारहरूसँग बताएका छन् ।

यस घटनाले सामाजिक सञ्जालमा पनि व्यापक ध्यान तानेको छ । तर, अहिलेसम्म नगरपालिकाको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन ।