जनकपुरधाम, ७ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूका लागि शैक्षिक सत्र २०८२ का पाठ्यपुस्तकहरूको सूची सार्वजनिक गरेपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाले सो कार्यलाई सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले पुस्तक सूची प्रकाशित गर्दै निजी विद्यालयमा हुँदै आएको मूल्य मनपरी, व्यवसायी एकाधिकार र अभिभावकमाथिको आर्थिक बोझ घटाउने प्रयास गरेको हो । सार्वजनिक सूचीमार्फत विद्यालयहरूलाई स्पष्ट मापदण्डमा बाँध्ने र अभिभावकलाई जानकारीमा राख्ने रणनीति लिइएको जनाइएको छ ।

महासंघ धनुषाले उपमहानगरपालिकाको यो पहललाई सकारात्मक र सुधारोन्मुख कदम भन्दै पुस्तक आपूर्ति, मूल्य पारदर्शिता र अभिभावक पहुँचमा सहजता ल्याउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

महासंघका एक पदाधिकारीले भने, ‘विद्यालय र केही व्यवसायीबीचको साँठगाँठका कारण अभिभावकहरू महँगो मूल्य तिर्न बाध्य थिए । अब हामी पुस्तकहरू समयमै, सुलभ मूल्यमा, सबै अभिभावकलाई उपलब्ध गराउने दिशामा काम गर्छौं ।’

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहका अनुसार पुस्तक सूची सार्वजनिक गर्नुको उद्देश्य निजी विद्यालयमा पारदर्शिता, अभिभावकप्रति उत्तरदायित्व र पुस्तक विक्रेताबीचको अव्यवस्थित प्रतिस्पर्धालाई नियमन गर्नु हो ।

उनले भने, ‘अब कुनै विद्यालयले आफ्नै रोजाइका व्यवसायीसँग मिलेर मूल्य बढाउन सक्दैन । सूची सार्वजनिक भएपछि प्रतिस्पर्धी मूल्यमा किताब खरिद सम्भव हुनेछ ।’

महासंघले आगामी दिनमा विद्यालय, अभिभावक र उपमहानगरपालिकाबीच समन्वयको आवश्यकता औंल्याउँदै पुस्तक वितरण प्रणालीलाई पारदर्शी, सुलभ र भरपर्दो बनाउने योजना सार्वजनिक गरेको छ । साथै बजार अनुगमनलाई पनि प्रभावकारी बनाउने बताइएको छ ।

उपमहानगरपालिकाको यो कदम र महासंघको सक्रिय सहयोग घोषणालाई जनकपुरधामका अभिभावक, समाजसेवी र शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले स्वागत गरेका छन् ।उनीहरूका अनुसार यस्तो प्रयासले अब निजी शिक्षामा निहित व्यवसायीकरणलाई केही हदसम्म व्यवस्थित गर्न सक्छ ।

एक अभिभावकले भने, ‘पहिले हरेक नयाँ सत्रमा किताब किन्नै ठूलो समस्या हुन्थ्यो । मूल्य फरक, कहिले किताबै नपाइने । अब सूचीअनुसार नै सबैलाई समान मूल्यमा किताब पाइने आशा गरेका छौं ।’