जनकपुरधाम, वैशाख ८ गते। जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले पार्टीका कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको हालैको गिरफ्तारीलाई योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको बताएका छन्। उनले यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै पार्टी नेतृत्वभित्रै देखिएको वित्तीय अनियमितता, शक्ति दुरुपयोग र षड्यन्त्रको निष्पक्ष छानबिनको माग गरेका छन्।

साहद्वारा जारी विज्ञप्तिमा सुरेन्द्र यादवको मधेश आन्दोलन र जनमत पार्टी निर्माणमा ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै, उनको समर्पण, योगदान र इमान्दारिता कुनै पनि सवालभन्दा पर रहेको बताइएको छ। विज्ञप्तिमा केही ठोस यथार्थहरू जनमानससामु स्पष्ट पार्न आवश्यक भएको उल्लेख छ।

विज्ञप्तिअनुसार, जनकपुरधाममा बनाइएको मधेश आश्रम पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयबाट सहयोगको आग्रह गर्दा समेत चासो नदिएपछि सुरेन्द्र यादव र बसन्त कुशवाहाले आफ्नै खर्चमा उक्त घर निर्माण गरेका थिए। साह स्वयं पनि त्यसमा प्रत्यक्ष संलग्न रहेको बताएका छन्।

त्यस्तै, स्वतन्त्र मधेश गठबन्धनको समयमा सुरेन्द्र यादवले व्यक्तिगत सवारी साधन र पेशागत अवसर त्यागेर कतारमा संगठन निर्माण गरेका थिए। पार्टी निर्माणमा जीवनको महत्वपूर्ण समय समर्पण गरेका यादवलाई टिकट नदिइ अर्कै व्यक्तिलाई उम्मेदवार बनाइनुले आन्तरिक असन्तुष्टि चुलिएको साहको भनाइ छ।

विज्ञप्तिमा थप भनिएको छ कि समानुपातिक सूचीमा समावेश गराउन पचास लाख रुपैयाँ मागिनु अत्यन्त अपारदर्शी कार्य हो। त्यसैगरी, यादवको नाममा नभई अन्य पात्रको नाममा गाडी खरिद हुनु, कोषाध्यक्ष हुँदाहुँदै बैंक खाता नखोली आर्थिक कारोबार हुनु, तथा पार्टीको नाममा बनाइएको घर र कार्यालयहरूमा अनियमितता देखिनु गम्भीर विषय हुन्।

साहले डा. राउतको हठका कारण काठमाडौमा पार्टीको स्थायी कार्यालय नबनाई कोटेश्वरस्थित एक होटलमा काम चलाइएको र त्यहीँबाट चुनावका गतिविधि सञ्चालित भएको बताएका छन्। साथै, विभिन्न व्यक्तिहरूको नाममा संकलन गरिएको आर्थिक सहयोग निजी प्रयोजनमा खर्च गरिएको भन्दै उनले त्यो गैरकानुनी भएको दाबी गरेका छन्।

यी सबै घटनाले यादवको गिरफ्तारी पूर्वनियोजित षड्यन्त्र भएको संकेत दिने साहको भनाइ छ। उनले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनको माग गर्दै पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न जोड दिएका छन्।