जनकपुरधाम, वैशाख ८ गते । जनकपुरधाममा सीताराम अन्तर्राष्ट्रिय एम्स इन्स्टिच्युट अफ हेल्थ साइन्सेज निर्माण तथा सञ्जाल विस्तारका लागि ‘महासंकल्प अभियान’ सुरु गरिएको छ। रामजानकी बहुउद्देश्यीय रंगशालाका परिकल्पनाकार दिनेश पूर्वेद्वारा प्रारम्भ गरिएको अभियान अन्तर्गत ‘मेची–महाकाली हस्ताक्षर शुभारम्भ अभियान’को सुरुवात गरिएको हो।

उक्त अभियानको मुख्य उद्देश्य जनकपुरधामस्थित सीताराम विवाहस्थलमा अत्याधुनिक स्वास्थ्य सेवा सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको मेडिकल संस्थान निर्माण गर्नु रहेको छ। अभियानकर्ताहरूले जनकपुरधामलगायत सम्पूर्ण मधेशका जनता आज पनि विशिष्ट स्वास्थ्य सेवा सुविधाबाट वञ्चित रहेको जनाउँदै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्ताक्षर संकलनमार्फत अनुरोध गरिने जनाएका छन्।

उक्त संस्थान निर्माणका लागि धनौजी गाउँपालिका, वार्ड नं ३, झोझी कटैयास्थित विभिन्न स्थानहरूमा जम्मा ६ विघा ६ कठ्ठा १३ धुर, १ कठ्ठा १० धुर, ३ कठ्ठा १५ धुर र १ विघा १० कठ्ठा ४ धुर जग्गा सुरक्षित गरिएको छ। अभियान अनुसार सो जग्गा संस्थान निर्माणका लागि पर्याप्त र उपयुक्त रहेको जनाइएको छ।

धनौजी गाउँपालिकाका वार्ड अध्यक्ष राम नारायण यादवले जनकपुरधामको नापी शाखालाई उक्त जग्गाको फिल्ड बुक र नक्सा उतार उपलब्ध गराउन पत्राचार गरिसकेको जानकारी दिएका छन्।

अभियानले सामाजिक रूपान्तरण, क्षेत्रीय स्वास्थ्य पूर्वाधारको विकास र भारत–नेपाल धार्मिक सम्बन्ध सुदृढ पार्न समेत मद्दत पुग्ने विश्वास लिएको छ। निर्माण कार्यको थालनीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सहयोगको अपिल पनि गरिएको छ।