जनकपुरधाम, वैशाख ८ गते। धार्मिक चेतना, अध्यात्मिक जागरण र राष्ट्रप्रेमबीचको सम्बन्धलाई पुनः उजागर गर्ने उद्देश्यले जनकपुरधामको देवडिहामा एक विशेष विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल–भारत खुला सिमा संवाद समूहको आयोजनामा सम्पन्न गोष्ठीको केन्द्रमा पुरी शंकराचार्यजीको आगामी देवडिहा आगमनको तयारी रहेको छ ।

कार्यक्रमको अध्यक्षता देवचन्द्र झाले गरे । उनले आफ्ना मन्तव्यमा शंकराचार्यजीको दर्शन जनकपुरधामका लागि गौरवको विषय भएको उल्लेख गर्दै देवडिहामा औपचारिक निमन्त्रणा गरिएको घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा कलकत्ता उच्च अदालतका अधिवक्ता प्रेमचन्द्र झा थिए । उनले गोष्ठीमा धर्म, अध्यात्म र राष्ट्रबोधको गहिरो सम्बन्धबारे गहन विचार प्रस्तुत गरे । झाले आधुनिक भौतिकतावादी जीवनशैलीले धर्म र अध्यात्मको मूल आत्मा भुलाउँदै लगे पनि नेपाली–भारतीय समाजमा अझै पनि संस्कार र आध्यात्मिक ऊर्जा गहिरो गरी बचेको धारणा राखे ।

उनले भने, ‘धर्म भनेको केवल पूजा वा संस्कार होइन, त्यो राष्ट्रको आत्मा हो । राष्ट्रबोध अध्यात्ममा छ र अध्यात्म राष्ट्रप्रेममा—यी एक अर्कासँग अलग गर्न सकिंदैन ।’

कार्यक्रममा नेपाल–भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झाले खुला सिमाबाट उत्पन्न सामाजिक, सांस्कृतिक र आर्थिक लाभहरूबारे प्रकाश पारे । उनले हालका दिनमा खुला सिमालाई लिएर उठेका बहसहरूमा भावनात्मक र ऐतिहासिक पक्षलाई बेवास्ता नगर्नु पर्ने बताउँदै भने, ‘खुला सिमा हाम्रो हजारौं वर्ष पुरानो सांस्कृतिक सेतु हो । यो केवल नीति होइन, जन–जनको भावनाको पुल हो ।’

कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। आर।एन। झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, शुभाष झा लगायतका विशिष्ट अतिथि र समाजसेवीहरू सहभागी थिए । सबैले शंकराचार्यजस्ता आध्यात्मिक विभूतिको नेपाल आगमनले नैतिक र सांस्कृतिक चेतनामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युवा पुस्तालाई धर्म, योग, वेद, अध्यात्म र राष्ट्रसेवामा सक्रिय बनाउने प्रेरणाका साथ स्थायी धार्मिक संवादको मञ्च तयार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो ।

शंकराचार्यको आगमनलाई केन्द्रमा राखेर देवडिहालाई धार्मिक पर्यटन र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने सम्भावनामाथि समेत छलफल गरिएको थियो । आयोजकले देवडिहा क्षेत्रमा अध्यात्मिक परिसर, धर्मशाला, पुस्तकालय तथा अध्ययन–अनुसन्धान केन्द्रको परिकल्पनासहितको खाका तयार पार्ने तयारी भइरहेको जनाएका छन् ।