प्रफुल्ल घिमिरे 
बढी दु:खका साथ लेखिरहनु परेको छ जनकपुर धामको बिचित्र विडम्बना पुर्ण संकीर्ण कष्टदायी अवस्था ।
         राम नारायण मिश्रको स्मृति भवन निर्माणका सन्दर्भमा व्यक्तिगत स्वार्थ पुर्तिकालागी राजनीतिक आश्थाका सँकुचित घेरामा रुमलिएका केही सकिंर्ण विचार बोकेका जनकपुर धामका तथाकथित केहि पात्रहरूले बिरोध गर्नु ,गराउनु भनेको प्रजातान्त्रिक आन्दोलन प्रति असहमति राख्नु हो भन्दा उपयुक्त नै होला।
        जसले देखेका ,सुनेका छैनन,पढेका छैनन् राणा कालिन १०४ बर्षे जहाँनिया निरुकुंश बर्बर, त्रासदिपुर्ण शासन । जसले  निरंकुश तानाशाही निर्दलिय पञ्चायती व्यवस्थाको शाही शाशनको विरुद्धमा संघर्ष गरेकै छैनन आज त्यस्ता पात्रहरूले जान अनजानमा विरुद्ध गर्नु स्वभाविकै हो। तर जसले , जसको राजनीतिक दलले प्रजातान्त्रिक आन्दोलनका संघर्षमा महत्त्वपूर्ण योगदान पुर्याएका छ्न ती दलका नेतृत्वमा रहेका व्यक्तित्वहरुले प्रजातान्त्रिक आन्दोलनका महान हस्तिहरु माथि विष वमन गर्नु, अनादार गर्नु , उनले गरेका योगदानको अवमूल्यन गर्नु भनेको  विक्षिप्त दिवालियापन मानसिकताको उपज हो।
 प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा , जसले जीवनमा अनेकौं संघर्षरत वेदना युक्त अति कष्ट्मय अवस्थामा पनि त्याग, तपस्या संघर्ष र बलिदानको मार्गमा आफुलाई क्यान्सर जस्तो भयंकर बिरामी भएको थाहा पाउदा पाउदै पनि प्रजातान्त्रिक प्राप्तिका खातिर्नैन  ढृढता पूर्वक उभिरहे , सुन्दरीजलका कारावासमा राजा महेन्द्रले  निवेदन देउ उपचाररत म छाडिदिन्छु भनि बारम्बार खवर पठाउदा पनि निरंकुश पञ्चायती व्यवस्थाका  पर्वतक निरंकुश राजा महेन्द्रको अगाडि कहिल्यै झुकेनन । उनी भन्ने गर्थे म जेलमा नै मर्न तयार छु। सुन्दरी जलको कारावासमा गणेशमानजिलाई वार्ताको क्रममा भनेका थिए – ” सर दिया पर शर नही दिया” साच्चै नै उनले भनेका उक्ति चरितार्थ गरेर नै देखाए ।
          तराई मधेसबाट प्रतिनिधित्व गर्ने  अलौकिक अद्भुत अध्यात्मिक चिन्तन बोकेका नेपाली प्रजातान्त्रिक आन्दोलनका संघर्षरत गाथाहरुमा ढृढता पूर्वक उभिएका साहसिक नेता हुन रामनारायण मिश्र ।
           खैर यिनका नालिबेली खोतल्दै जाँदा यिनको जन्म सन्त पिता अम्बिका शरण मिश्र एवं धर्मपरायण माता शिबदुलारिको गर्भबाट विक्रम संवत् १९७९ जेष्ठ शुक्ल एकादशी (५ जुन १९२२) का दिन महोत्तरी जिल्लाको पिपरा गाउका प्रसिद्ध रहेका मिश्र परिवारमा भएको थियो।
         यिनका पिता माता भगवतीका उपासक थिए। साक्षत माता भगवतिको दर्शन हुने गर्थ्यो। सिद्ध पुरुषका रुपमा मानिन्थ्यो । सहज रूपमा भावी घटनाहरु शुचना दिने गर्थे ।
         रामनारायण मिश्र पाँच वर्षको हुँदा उनका पिताजीको बिन्ध्याचल गएर भगवती को दर्शन गर्ने इच्छा भयो। बाटैमा आफ्नो श्रीमतीलाई भने मेरो अन्तिम अवस्था आइसकेको छ। तिमी आफ्नो सिउदोंको सिन्दर र हाथको चुरा हटाउ ।  बिन्ध्याचल पुगे पश्चात् भगवतीको मन्दिरमा  तीन चार दिन सम्म मातालाई गुहार लगाए । मलाई लिएर हिड, मलाई लिएर हिड। नभन्दै उनी बिमारी भए। यथाशिघ्र नै शरीर त्याग गरि दिए।
       पिताको मृत्यु पश्चात् काकाको सानिध्यतामा रामनारायणजिको पर्वरिस हुन थाल्यो। नेपालमा कालरात्रीकाममा  त्रासदी पुर्ण राणा कालिन अवस्थामा बिधालयहरु खोल्नु जघन्य अपराध नै थियो। वरिपरि बिधालय थिएनन् । भारतको सुरसंड बजारमा रहेका बिधालयमा यिनको अध्यन प्रारम्भ भयो। उनी पढ्नमा मेघाबी थिए। मेट्रीकको परिक्षा  दिनु भन्दा पुर्व नै उनी गम्भीर रुपमा बिरामी हुन पुगे। फोक्सोको समस्या थियो। बिरामी बाट मुक्त हुन लामै समय लाग्न गयो।उनको बिधालयको शिक्षा अधुरै रहन पुग्यो। तर उनले निजि अध्यन जारी नै राखे । विभिन्न पुस्तक ,पत्र पत्रीका अध्यन गर्न थाले ।
      उपचारको क्रममा केहि दिन मसूरी रहनु परेको थियो। उक्त बसाइको बेला स्वास्थ लाभको लागि मसूरी पुगेका बिहारका प्रख्यात नेता डा. कृष्ण सिंह, अनुग्रह नारायण सिंह तथा महामाया बाबुववआदी संग सम्पर्क हुन गयो। उनिहरुको सम्पर्कबाट राजनीतिक चेतना र आकांक्षा को संचार हुन पुग्यो।
    यश समयमा भारतमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता आन्दोलन ठूलै रुपमा जोरतोडले चलिरहेको थियो। त्यसको प्रभाव पनि उनी जस्ता युवाहरुमा पर्नु स्वाभाविकै थियो। सो प्रभाव उनिमा पनि पर्न गयो। उक्त समयमा नेपालका नेताहरु पनि भारतलाई अंग्रेजको गुलामीको चंगुलबाट निकाल्न आन्दोलनमा सहभागी भएका थिए। बी.पी. कोइराला , मातृकाप्रसाद कोइराला , दिल्ली रमन रेग्मी ,सूर्य प्रसाद उपाध्याय , भद्रकाली मिश्र तथा मनमोहन अधिकारी जस्ता महान नेपाली नेताहरू पनि उक्त आन्दोलनमा लाठी खाए, यातना झेले, कारावास समेत बसेका थिए।
       रामनारायण बाबू केही समय हरिद्वार, ऋषिकेश, बद्रीधाम आदि घुम्दै हिमालयवर्ती तीर्थहरुमा साधु सन्यासिहरुको सम्पर्कमा रहे। हिमालय्वर्ती तिर्थहरुको भ्रमणबाट आफ्नै गाउँ फर्केर आए र समाज सेवाको कार्यमा लागे।
         शिक्षाको प्रचार गर्न लागे। ठाउँ ठाउँमा बिधालय , कल्ब, पुस्तकालय , संगितालयहरुको स्थापना गरे। शास्त्रीय संगित, गजल गायन ,शेर-शायरिमा उनको गहिरो दिलचस्पी थियो। उनी स्वयं पनि राम्रो गाउने गर्थे । राणाकालीन जहाँनिया शासनको कालो कालमा यी संस्थाहरुको स्थापनामा धेरै कठिनाईको सामना यिनले झेल्नुपरेको थियो।
         १५ अगस्त १९४७ का दिन भारत स्वतन्त्र भयो । र नेपालमा पनि राणाशाही शासनबाट मुक्तिका लागि आन्दोलन तीब्र हुन थाल्यो।
         हुनत राणा शाहिको विरुद्ध १९९७ साल देखि नै प्रजापरिषदले कार्यरंभ गरिसकेको थियो। जसमा शुक्रराज शास्त्री,धर्मभक्त माथेमा , गंगालाल ,दशरथ चन्द ले बलिदान दिनुपरेको थियो भने बाहुन भएका कारण टंक प्रसाद आचार्य,रामहरि शर्माले सर्वस्व सहित मुडेर जात च्यूत गरि आजिवन कैदको सजाए पाएका थिए।
        भारतमा राणाशाहिको बिरुद्ध अनेक संघ संगठनहरु खुले।  २००३ सालमा बी.पी.कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो। २००५ सालमा नेपाल प्रजातन्त्र काँग्रेस को गठन भयो। २००६ को चैतमा यी दुबै संगठनमा एकता भएर नेपाली काँग्रेसको स्थापना भयो।
      रामनारायण मिश्रले नेपाली काँग्रेसका नेताहरूसंग सम्पर्क स्थापित गरेर गोप्य रुपमा सहयोग गर्न लागे। नेपालमा राजनीतिक गतिविधि प्रतिबन्धित थियो। नेपाली काँग्रेसका नेताहरू भूमिगत भएर या सिमा पारिबाट नै आफ्नो आन्दोलन संचालित गरिरहेका थिए।
      यता रामनारायण मिश्र र भद्र्काली मिश्रले जब सम्म मूलुक कै धर्तीबाट राजनीतिक जागृति ल्याउन सकिदैन तब सम्म सफलता पाउन गाह्रो हुन्छ भन्ने ठाने।सोही अनुरुप सन १९५० को ३० जनवरी कादिन महात्मा गान्धीको पूण्यतिथिमा “लोक सेवक संघ” नाउँबाट एउटा समाजिक संस्थाको स्थापना गरे। जसको उद्देश्य महात्मा गान्धीको रचनात्मक कार्यहरूको आवरणमा जनतामा राजनीतिक चेतना प्रसार गर्नुर राणाशाही विरुद्ध संगठित गर्नु थियो। चर्खा प्रचार , सफाई अभियान , प्राथना सभा , अग्नि पिडितहरुलाई सहायता लगायतका अन्य कार्यहरू द्वारा जन-जागरण अभियान चलाए । केही दिनमै आदर्शवादी कार्यकर्ताहरुको ठूलै जमात संगठित हुदैगए। यी गतिविधि सञ्चालनकालागि जनकपुर धामलाई केन्द्र बिन्दु बनाएर एउटा आश्रम पनि प्रारम्भ गरे। यिनका कृयाकलापहरुलाई अधिक दिन सम्म राणाहरुले झेल्न सकेनन् । रामनारायण मिश्र ,भद्रकाली मिश्र लगायत लोक सेवक का ३०/३५ जना कार्यकर्ताहरुलाई गिरफ्तार गरि जलेश्वर जेलमा राखियो। लोक सेवक संघको सम्पूर्ण गतिविधिमा  प्रतिबन्ध लगाइयो । जेलमा नेपाल राष्ट्रिय काँग्रेसका कार्यक्रममा गिरफ्तार भएर आएका पं.रमाकान्त झा, सरोज प्रसाद कोइराला आदि पहिले देखि नै थिए।
    केहि महिना पश्चात् लोक सेवक संघका सबैलाई राणाहरुले मुक्त गरिदिए। जेलबाट निस्केपछि रामनारायण मिश्र र भद्रकाली मिश्र केही दिन सम्म गान्धिद्वारा स्थापित बर्धा सेवाग्राम रहे । लोक सेवक संघका अन्य कार्यकर्ताहरुलाई पनि विभिन्न आश्रम मा राखेर प्रशिक्षण दिलाए। यसैबीच नेपालमा तिब्र रुपमा राजनीति गतिविधि बढिरहेको थियो। नेपाली काँग्रेसको मुक्ति सेनाले ११नवम्भर मा बिरगंजमा आक्रमण गर्यो।बिराटनगर , जनकपुर , भैरहवा ,सिन्धुली , उदयपुर तथा अन्य स्थानहरुमा पनि लडाइ तिब्रताका साथ भैरहेथ्यो। ठाउँ ठाउँमा मुक्ति सेनाको सहयोगबाट जन सरकार गठन भइ रहेको थियो। श-शस्त्र आन्दोलन अन्तिममा चरणमा पुगिसकेको थियो। राणाहरु अताली सकेका थिए। ठिक त्यही समयमा
 भारत सरकारको मध्यस्थतामा सम्झौता को प्रयास भयो।
त्यस समयमा लोक सेवक संघ भद्रकाली मिश्र र रामनारायण बाबु पनी दिल्लीमा नै थिए। नेपाली काँग्रेसका नेता र भारतीय नेताहरूको कुराकानीको आधारमा लोक सेवक संघ नेपाली काँग्रेसमा बिलय भयो।
अन्ततः राजा त्रिभुवन सर्बोच्च शाशकका रुपमा २००७ फागुन ४ गते दिल्लीबाट काठमाडौ आए। फागुन ७ गते राजा त्रिभुवनले प्रजातन्त्रको घोषणा गर्दै सम्बोधनमा भने संबिधान सभाको चुनाव गराएर जनप्रतिनिधिहरुद्वारा निर्मित संविधानको अनुसार मुलुकको शासन चलाउने प्रतिबद्धता जाहेर गरेका थिए। प्रधानमन्त्री मा मोहन शमशेरको नेतृत्वमा राणाहरु र नेपाली कांग्रेसको संयुक्त सरकार  बन्यो। भद्रकाली मिश्र संयुक्त सरकारमा यातायात मन्त्री बने। रामनारायण मिश्र नेपाली काँग्रेसको केन्द्रीय सदस्री बन्न पुगे। भद्रकाली मिश्र केहि समय पश्चात् नेपाली काँग्रेसका नेताहरू सँग मतभेद भएर निस्के ।तर रामनारायण बाबु जिवनका अन्तिम समय सम्म नेपाली काँग्रेसको झण्डालाई छाडेनन् ।
    नेपाली काँग्रेसको संगठन बलियो बनाउने कार्यमा दिन रात यिनी लागी रहे। एक साल भित्रै राणा काँग्रेसको संयुक्त सरकार ढल्यो। नेपाली काँग्रेसको नेतृत्वमा मातृकाप्रसादको प्रधानमन्त्रीत्वमा नेपाली काँग्रेसको एकमना सरकार गठन भयो। बी.पी.कोइरालाले एक व्यक्ति एक पदको कुरा उठाए। र मातृकाप्रसाद लाई अध्यक्षको पद छोडन दबाब दिइयो । २००९ साल जेष्ठमा नेपाली काँग्रेसको महाधिवेशन  जनकपुरमा सम्पन्न भयो। त्यतिबेला धनुषा ,महोत्तरी र सर्लाही का केही भुवाग महोत्तरी जिल्लामा नै थियो। नेपाली काँग्रेसको अजय गढ थियो।
    राम नारायण मिश्र , महेन्द्र नारायण निधि, सरोज कोइराला , रमाकान्त झा , दिगम्बर झा, बोध प्रसाद उपाध्याय , रुद्र प्रसाद गिरि, भद्रकाली मिश्र , मथुरा प्रसाद , ठाकुर प्रसाद ढुगांना, भुबनेश्वर महासेठ, निर्गुन यादब, चिन्ताहरन सिंह लगायतका नेताहरु यै पुराना महोत्तरी कै थिए। यस जनकपुरमा भएको महाधिवेशनमा महोत्तरीका अधिकांश नेता कार्यकर्ताहरुको समर्थन बी.पी.कोइरालाको  पक्षमा नै थिए। अन्ततः प्रधानमन्त्री मा रहेका मातृकाप्रसादले नेपाली काँग्रेसको अध्यक्ष पद छाडनै पर्यो। बी.पी. कोइराला पार्टी अध्यक्ष बन्नासाथ  मातृकाप्रसाद प्रसादको नेतृत्वको सरकार ढल्यो। नेपालको राजनीतिमा चारपाँच साल विभिन्न राजनीतिक उतारचढाव हुदै विभिन्न घटनाक्रमहरु घट्दै गए। मातृकाप्रसादले नेपाली कांग्रेसबाट अलग हुँदै राष्ट्रिय प्रजा पार्टी खोले । भद्रकाली मिश्र नेपाली काँग्रेस का केहि साथीहरूलाई लिएर टंक प्रसाद आचर्यको नेतृत्वको पार्टी नेपाल प्रजापरिषदमा प्रवेश गरे। राजा त्रिभुवन रोगले ग्रसित हुँदै गए। शासनमा तत्कालीन युवराज महेन्द्रको दखल बढ्दै गयो।
विभिन्न राजनीतिक दलको नेतृत्वमा सरकार बनाउने विघटन हुने कार्य राजा महेन्द्रले गर्दै गए । राजा त्रिभुवनको बिदेशमा उपचार गराउदा गराउदै २०११ फागुन ३० गतेका दिन निधन भयो। युबराज महेन्द्र राजा भए। महेन्द्र संबिधान सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुको हातमा शासन दिने पक्षमा थिएनन् । नेताहरूलाई लडाएर आफ्नो प्रत्यक्ष शासन चलाउन चाहन्थे । नेपाली कांग्रेसलाई त शासनबाट यदममै टाढा राख्न चाहन्थे ।
        यस समयमा सत्ताबाट अलग रहेर पनि विभिन्न स्थानीय तथा  राष्ट्रिय मुद्दाहरुलाई लिएर नेपाली काँग्रेस बी.पी.कोइरालाको नेतृत्वमा संघर्ष गर्दै रह्यो। रामनारायण बाबु पनि सबै कार्यक्रममा लागिरहे। चाहे नेपाली काँग्रेसले गरेको” खडे बटैया” र मोहियानीको आन्दोलन होस या मजदुरी वृद्धिको आन्दोलन होस सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गरेका थिए।
         संबिधान सभाको निर्वाचन गराउने राजा महेन्द्रको आलटाल नितिका विरुद्ध नेपाली काँग्रेसले २०१४ साल मार्ग २२ गते देश भरि नै “अवज्ञा आन्दोलन ” (सत्याग्रह)   प्रारम्भ गर्यो। अन्ततः राजा महेन्द्रले झूक्न बाध्य भए। २०१४ माघ १९ गते दिन राजा महेन्द्रले संबिधान सभाको निर्वाचन नगराएर २०१५ फागुन ७ गतेका दिन आम चुनाव गराउने घोषणा गरे।
         २०१५ साल जेष्ठ २ गते सुवर्ण शमशेरको नेतृत्वमा अन्तरिम सरकार बन्यो र सफलता पुर्वक आम चुनाव गरायो। १०९ सिटको लागि भएको आम चुनावमा ७४ सिट ल्याएर नेपाली काँग्रेसले ठूलै सफलता हासिल गर्यो। यश चुनावमा महोत्तरीका सबै सिटहरु नेपाली काँग्रेसले हासिल गरेको थियो। ४१ क्षेत्र न.बाट सरोजप्रसाद कोईराला , ४२ बाट रुद्रप्रसाद गिरि, ४३ बाट महेन्द्र नारायण निधि, ४४ बाट रामनारायण मिश्र ,४५ बाट बेणिमाधब सिंह ले बिजय हासिल गरेका थिए।
        २०१६ जेष्ठ १३ गते बि.पी.कोइरालाको प्रधानमन्त्रीत्वमा गठन भएको मन्त्री मण्डलमा ने.कां.का सहायक महामन्त्री रहेका रामनारायण मिश्रलाई उधोग वाणिाज्य मन्त्रीको जिम्मेवारी दिइएको थियोे भने महेन्द्र नारायण निधिलाई उप सभामुखको । सरोज कोइराला त संसदका प्रखर वक्ता नै थिए।
उद्योग वाणिज्य मन्त्री बनेका रामनारायण मिश्र उधोगहरु बिस्तार गर्न कडा परिश्रमका साथ लागिरहे। उनको मन्त्रीतब कालमा नेपाल र भारतको बिच जुन वाणिज्य सन्धी भयो त्यो नेपाल र भारतको सम्बन्धमा मीलको पत्थर साबित भयो। उनको भारतीय नेताहरूसंग खास गरेर जबाहरलाल नेहरुका साथ रहेको व्यक्तिगत सम्बन्धको उपयोग गरेर नेपाल को लागि धेरै सुबिधाहरु हासिल गर्नमा सफल रहे। रुसको सहयोगमा जनकपुर चुरोट कारखाना , बिरगंज र भैरहवामा चिनी मिल स्थापित गर्ने निर्णय लिए। यसकोलागी पार्टी   भित्र धेरै संघर्ष गर्नु पर्यो। काठमाडौमा भएको महाधिवेशनमा पहाडको उपेक्षा गरेर तराईको पक्षमा मात्र काम गरेको आरोप समेत लाग्न पुग्यो। यो कुराले दु:खि भएर उनले मन्त्री मण्डलबाट त्याग पत्र समेत दिए। मतभिन्नताको स्थिति आएको देखेर बी.पी.कोइरालाले सम्झाइ बुझाई त्याग पत्र फिर्ता लिन लगाएका थिए। मन्त्री बनिसकेता पनि उनी संसदमा सधैं धोती कुर्ता वा शेरवानी पायजामा लगाएर नै जाने गर्थे । संसदहरुको जबाफ हिन्दी मै दिने गर्थे । हिन्दी र मधेसीको नारा कहिल्यै लगाएनन । तर तराईवासीको आर्थिक स्थिति र आत्मसम्मान बढाउनको लागि उनले गहिरो प्रयत्न गरे।
     नेपाली काँग्रेसको सरकारले जनता को जीवन स्तर उकास्ने र शोषण समाप्त गर्ने दिशामा गरेका कार्यहरूले जनतामा अत्यधिक लोकप्रिय हुँदै गइरहेको थियो। बिर्ता उन्मुलन ,राजारजौटा प्रथाको अन्त गर्ने निर्णय लियो। शोषक सामन्त बर्गहरु तर्से। राजा महेन्द्र पनि नेपाली काँग्रेसको लोकप्रियता र शक्ति देखेर चिन्तित हुन पुगे । प्रजातन्त्र हत्याको तानाबाना बुनिन थाल्यो। विभिन्न घटनाहरु घटाइए । देशमा अराजकता फैलाउन विभिन्न सुनियोजित रुपमा उपद्र्वहरु गराइए। अन्ततः यी सबै घटनाहरुलाई लिएर राजा महेन्द्रले २०१७ साल पुस १ गतेका दिन नेपाल तरुण दलको थापाथलीमा चलिरहेको पहिलो अधिवेशनको उदघाटनमा नेपाली कांग्रेसका महामन्त्री श्रीभद्र शर्माले बोलिरहेकै बेला प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला , निर्माण ,सञ्चार तथा नहर मन्त्री गणेशमान सिंह, गृह तथा कानुन मन्त्री सूर्यप्रसाद उपाध्याय , उधोग वाणिज्य मन्त्री रामनारायण मिश्र तथा सभामुख कृष्णप्रसाद भट्टराई लाई केही महिना सिहदरबारमा कडा नियन्त्रणमा राखेर २०१७ फागुन २६ गते बी.पी. र त्यहाँ रहेका सबैलाई सुन्दरी जलको बन्दीगृहमा राखियो । पुस १ गते ससंद विघटन गर्दै राजा महेन्द्रले प्रजतन्त्रको हत्या भएपछि नेपाल भरी नै जन दमनको शृङ्खला शुरु भयो। नेपाललाई एउटा ठूलो कारागारमा परिणत गरियो। धर पकड व्यापक रुपमा हुन थाल्यो । नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु कारावासमा या त  निर्वाशीत हुन पुगे। जेलबाट प्रायः जसो मधेसी मन्त्री राजासँग माफी मागेर निस्किसकेका थिए। रामनारायण बाबुलाई सुन्दरी जल जेलमा रहदा तराईवासीको आत्मसम्मान बचाउने धेरै चिन्ता थियो। उनी केही बर्ष पछि बिरामी परे। क्यान्सरले समाती सकेको थियो। असहाय वेदनाले उनी छटपटाउन लागे। उनलाई राजा समक्ष उपचारकालागि बिन्तिपत्र दिनलाई भनियो । तर उनले आफ्नो सिद्धान्त छोडन स्विकार गरेनन। न राजासँग दयाको भिख मागे। जेलमा अवस्था असाध्यै खराब हुँदै गयो। सैनिक अस्पतालमा भर्ना गरियो। एकातिर बिमारीको कष्ट अर्कोतिरबाट मानसिक यातना समेत दिइयो । इस्ट मित्र , परिवारजन संग समेत भेटन दिइएन । केही दिनमा नै उनको स्वास्थ अवस्था झर्दै गयो। डाक्टरले राजा महेन्द्रलाई सूचना दिए कि यिनी केही हप्ता सम्म मात्र जिवित रहन्छन् । राजा महेन्द्रले बिना शर्त उनलाई रिहा गरे। एक दुई दिन पछि उनलाई पटना पुर्याइयो । पटनका डाक्टरहरुले उपचार गरे। यथासिघ्र बेलोरको क्यान्सर अस्पतालमा लाने सल्लाह दिए। उनि पहिले कलकत्ता पुगे । त्यहाँ सुवर्ण शमशेर संग देशको राजनीतिक स्थिति र पार्टी संगठनका सम्बन्धमा बिचार विमर्श गरे । उनलाई बेलोर अस्पतालमा भर्ना भए। एक वर्ष सम्म उनको इलाज चल्दै रह्यो । अस्पतालमा डाक्टरहरुले पेटको अप्रेसन गर्ने निर्णय गरे। अप्रेसन सफल भयो।सुधार हुन सकेन। केमोथेरापी दिन थालियो । उनलाई हेर्ने डा.ए.डि. सिन्हाको काशी सरुवा भयो। यिनको पनि अन्तकालमा काशीबास बसि यिनै डाक्टरको रेखदेखमा रहने निर्णय गरे। केही दिन पश्चात् अचानक उनको बिमारी अत्यधिक बढन गयो। उनलाई काशीबाट पटना पुर्याइयो। उनी आफ्नै मुलुकमा आएर मृत्युु वरन गर्न चाहन्थे । उनले भनेका थिए मेरो मृत्यु यदि यहाँ भयो भने पनि मेरो अन्त्येष्टि जमभूमी मै लगेर गर्नु। मर्नु भन्दा एकदिन पुर्व अर्ध बेहोसिको अवस्थामा पुगे। अर्ध बेहोसिको अवस्थामा पनि कुनै कुनै बेला इन्कलाव जिन्दावाद को नारा लगाउन पुग्दथे। अन्ततः २०२४ साल पुस ६ गतेका दिन यसलोक लाई छाडेर बिदा भए।
      उनको इच्छा अनुसार शवलाई गाडिमा राखेर गाउँ पिपरा ल्याइयो । यो कुरा चारैतिर फैलिन पुग्यो। नेपालीका कार्यकर्ता नेता आम नागरिकको उनको अन्तिम दर्शनको लागि ओइरो लाग्न थाल्यो। जनकपुर लगेर दाहा संस्कार गर्ने निर्णय भयो। अर्थी सजाइयो। अर्थी जूलूसका साथ अगाडि बढयो। बाटोमा गाउँ गाउँका मान्छेहरू हजारौं संख्यामा जुट्दै गए। मानिसहरु नारा लगाइ रहेका थिए।  तानाशाही पञ्चायती व्यवस्थाको कठोर कालमा पनि रामनारायण जिन्दावाद ! पञ्चायती व्यवस्था मुर्दाबाद !! राजा महेन्द्र मुर्दाबाद को नारा लागिरहेको थियो। उक्त अर्थी जानकी मन्दिर पुग्यो ।अंचलाधिश जानकी मन्दिरको शिशमहल्बाट सबै सुनिरहेका थिए। यत्रो ठूलो संख्यामा रहेका जमातलाई चलाउन साहस गरेनन् । उनको अर्थिलाई गंगा सागरको पुर्वमा रहेको उनकै जग्गामा लगियो। नेपाली काँग्रेसको झण्डा ले शवलाई ओढाइयो। त्यहा नेपाली काँग्रेसका अहिंसाबादी नेता महेन्द्र नारायण  निधि, मकेश्वर सिंह, राधा चौधरी लगायत नेपाली काँग्रेसका सबै नेता तथा कार्यकर्ता उपस्तिथि थिए। हजारौंको भिडमा त्यसै समय यश स्थलमा रामनारायण मिश्रको एउटा स्मारक बनाउने निर्णय गरिएको थियो। सोही समय देखि उनको जग्गामा अवस्थित समाधिस्थल अगाडि उनको पुण्य तिथिका दिन श्रद्धाञ्जली मनाउदै आइरहेको छ। विभिन्न राजनीतिक उतारचढावका कारण बन्न नसकेको उक्त स्मारक हाल बन्न थाल्दा कतैबाट पनि अवरोध आउनु भनेको महान आत्मा प्रती चोट पुर्याउनु हो। अस्तु: