जनकपुरधाम,वैशाख ९ गते । धनौजी गाउँपालिका उपाध्यक्ष रामबती देवी मण्डलको निरन्तर तथा अथक प्रयासपछि गाउँ ब्लक अन्तर्गत पर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जा वितरण कार्य सुरु गरिएको छ।

उक्त कार्य धनौजी गाउँपालिका वार्ड नं. १ बाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। यस पहलले गाउँपालिका भित्रका जग्गाधनीहरूलाई कानुनी स्वामित्व पुष्टि गर्ने दस्तावेज प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

गाउँपालिकाका अनुसार, सम्बन्धित जग्गाधनीहरूले आफ्नो नागरिकताको प्रतिलिपि वा अन्य पहिचान खुल्ने कागजात साथमा लिएर तोकिएको समय र स्थानमा उपस्थित भई प्रमाण पुर्जा प्राप्त गर्न सक्नेछन्।

उपाध्यक्ष मण्डलले यस कार्यक्रमलाई “न्यायपूर्ण तथा समावेशी भू–स्वामित्व व्यवस्थापनतर्फको ऐतिहासिक कदम” भएको बताउनुभयो। यस अभियानले ग्रामीण विकास र प्रशासनिक पारदर्शितामा नयाँ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।