जनकपुरधाम,वैशाख ९ गते । विदेह नगरपालिका वडा नं ५ अन्तर्गत मुरिवा टोलमा आयोजना हुन लागेको महावीर झण्डा महोत्सवलाई लक्षित गर्दै मंगलबार कलश यात्रा भव्य रूपमा सम्पन्न गरिएको छ। महोत्सवको शुभारम्भ कलश यात्रासँगै हुने जनाइएको छ।

कलश यात्रामा विदेह नगरपालिकाका मेयर बेचन दास, प्रदेशसभा सदस्य लखन दास लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रम आयोजक समितिले जानकारी दिएको छ।

वडाध्यक्ष राधेश्याम गोइतले महोत्सवलाई सफल बनाउनका लागि सबै वासिन्दालाई विशेष आग्रह गरेका छन् । उनले वडा नं ५ अन्तरगतका तीनवटा टोलमा रहेको सार्वजनिक बाटो, धर्मस्थलहरू—जसमा डिहवार मन्दिर, सलहेश मन्दिर, रामजानकी कुट, शिव मन्दिर, हनुमान मन्दिर, मुरिवा ठाकुर बाबा स्थान र भैरव बाबा स्थान समावेश छन्—का चारैतिर सरसफाइ गर्न अनुरोध गरेका छन् ।

साथै, वडाध्यक्ष गोइतले बाटोमा गीटि, बालुवा, गोबर, गोइठा, घुरा, गाई–भैंसी–बाख्रा वा कुलोको पानी नछर्किन, बाटोमा सिँढी नबनाउने, तथा कुनै किसिमको अवरोध नगर्न पनि सबैलाई सचेत गराएका छन्।

महोत्सवको सुरक्षाका लागि क्षेत्रभित्रका मदिरा पसलहरू राति ९ बजेपछि बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको सहकार्यमा महोत्सव शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।