सिराहा, वैशाख ९ गते । सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवा नपाएको भन्दै स्थानीय जनप्रतिनिधि र युवाहरूको संयुक्त टोलीले सुधारको माग गर्दै अस्पताल प्रशासनलाई तीन दिने अल्टिमेटमसहित १९ बुँदे मागपत्र बुझाएको छ।

अस्पताल परिसरमा भेला भएका सेवाग्राही र युवाहरूले सेवा प्रवाहमा पारदर्शिता, चिकित्सकको नियमित उपस्थिति, औषधि वितरण प्रणाली सुधार, र अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्न जोड दिएका छन्।

सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पटकपटक ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले चासो नदेखाएपछि उनीहरू विरोधमा उत्रन बाध्य भएका हुन्। ‘बिरामीले आधारभूत सेवा पनि पाउन सकिरहेका छैनन्,’उनले भने, ‘औषधि खरिद र वितरणमा गम्भीर बेथिति देखिएको छ।

मागपत्रमा समेटिएका प्रमुख मागहरूमा पछिल्लो तीन आर्थिक वर्षको औषधि खरिद र वितरण विवरण, म्याद सकिएका औषधिको सूची, उपकरण खरिदमा भएको खर्च विवरण, कर्मचारी नामावली र तलबभत्ताको पारदर्शिता, सरसफाइ तथा सेवा तालिका सार्वजनिक गर्ने व्यवस्था लगायत छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहले केही दिन अघि अस्पताल अनुगमन गरे पनि जनतालाई देखिने कुनै ठोस सुधार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। युवाहरूले यदि तीन दिनभित्र माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।