एजेन्सी,वैशाख ९ गते ।गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा पुगेको छ। यद्यपि अन्तर्राष्ट्रिय सहायता समूह र मध्यस्थकर्ताहरूले राहत कार्यलाई सहज बनाउने उद्देश्यले युद्धविरामको अवधि थप गर्न आह्वान गरेका छन्।

सैन्य जुन्ताले गत मार्च २८ मा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि आफ्ना सशस्त्र विरोधीहरूमाथि आक्रमण रोक्ने घोषणा गरेको थियो। उक्त भूकम्पमा ३,७०० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। सन् २०२१ को सैनिक कूपछि सत्ता कब्जा गरेको जुन्ताले देशलाई बहुपक्षीय गृहयुद्धमा धकेलेको थियो।

द्वन्द्व अनुगमनकर्ता र लडाइँ प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका अनुसार, युद्धविराम अवधिमा पनि म्यान्माको मध्य भागमा दुबै पक्षबीच झडप जारी रहेको थियो। भूकम्पपीडितहरूलाई सहायता पुर्‍याउने उद्देश्यले घोषणा गरिएको युद्धविराम मङ्गलबार मध्यरात (१७३० GMT) मा सकिँदैछ।

राज्य सञ्चालित सञ्चार माध्यमहरूले युद्धविराम विस्तारबारे कुनै जानकारी नदिएको र एएफपी समाचार संस्थाले पनि जुन्ताका प्रवक्तासँग सम्पर्क गर्न नसकेको जनाएको छ।संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पका कारण ६० हजारभन्दा बढी मानिस पाल शिविरमा बस्न बाध्य भएका छन् भने झण्डै २० लाख मानिसलाई अत्यावश्यक सहायता र सुरक्षा आवश्यक परेको छ।यसैबीच, युद्धविराम चौथो हप्तामा प्रवेश गर्दै गर्दा क्षेत्रीय शक्ति र मानवीय सहायता समूहहरूले युद्धविरामलाई थप लम्ब्याउन आग्रह गरेका छन्।

म्यान्मा संकटबारे दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) पनि सक्रिय देखिएको छ। मलेसियाका प्रधानमन्त्री तथा आसियान अध्यक्ष अनवर इब्राहिमले म्यान्माका सैन्य प्रमुख मिन अङ्ग ह्लाइङ्गसँग बैंककमा पर्दापछाडिको दुर्लभ वार्ता गर्नुभएको छ। अनवरले म्यान्माको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि संवाद गरेको र ती पक्षले पनि युद्धविरामको प्रतिवद्धता जनाएको जानकारी दिनुभएको छ।

वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अनवरले भन्नुभयो, “दुवै पक्षले द्वन्द्वको विस्तारलाई रोक्न आवश्यक सबै कदम चाल्ने सहमति जनाएका छन्।”