जनकपुरधाम, वैशाख ९ गते । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको भोलिपल्टै भ्रष्टाचार मुद्दामा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत नियुक्त उपाध्यायले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट शपथ लिएपछि हिजो सोमबार पदभार ग्रहण गरेका थिए। तर, त्यसको भोलिपल्टै उनीमाथि आर्थिक अनियमितताको आरोपसहित मुद्दा दर्ता गरिएको छ।

अख्तियारका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्षका रूपमा बाराको पचरौता नगरपालिकाबाट २०७७/०७८ मा सञ्चालित ठेक्का कार्यको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मात्र एक प्रति प्रभाव दैनिकमा छापेर ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको आरोप छ। आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलका अनुसार, सूचना रेकर्डमा नराखी प्रकाशित नगरेको तथा प्रक्रिया विपरीत कार्य गरी गैरकानुनी लाभ लिने उद्देश्यले मतियारको भूमिका खेलेको ठहर गरिएको छ।

यस मुद्दामा उपाध्यायसँगै पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापालमाथि पनि अभियोग लगाइएको छ।कमलप्रसाद उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव समेत हुन्। उनी बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक समेत रहेका छन्।

पदभार सम्हालेको भोलिपल्टै सार्वजनिक भएको यो मुद्दाले प्रदेशको सञ्चार नियामक संस्थामाथि नै प्रश्न उठेको छ। मिडिया काउन्सिलजस्तो जिम्मेवार संस्थाको नेतृत्वमा रहेका व्यक्तिमाथि यस्तो गम्भीर आरोप लागेपछि चौतर्फी प्रतिक्रिया सुरु भएको छ।