एजेन्सी, वैशाख १० गते । भारत प्रशासित जम्मु–कश्मीरको पहलगाम नजिक पर्यटकहरूमाथि भएको बन्दुकधारी आक्रमणमा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतक नेपाली नागरिक रूपन्देही, बुटवल निवासी सुदीप न्यौपाने हुन्। उनी आफ्नी आमा, बहिनी र ज्वाइँसँग कश्मीर घुम्न गएका थिए। आक्रमणमा परी सुदीपको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् भने उनकी आमालाई भाग्ने क्रममा सामान्य चोटपटक लागेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये एक जना संयुक्त अरब इमिरेट्स (यूएई) का नागरिक रहेका छन्।

‘भारतको स्विट्जरल्यान्डू भनेर चिनिने कश्मीरको लोकप्रिय पर्यटकीय स्थल पहलगामनजिक मंगलवार घुम्न गएका पर्यटकहरूलाई लक्षित गरी गोली प्रहार गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘आतङ्कवादी हमला’ भनी निन्दा गर्दै दोषीलाई नछोडिने घोषणा गरेका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै नेपाल आतङ्कवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धता जनाएका छन्।

घटनापछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ‘एक्सुमा लेखेका छन्, “पीडितमध्ये नेपाली नागरिक पनि रहेको विवरणको पुष्टि गर्न र आवश्यक सहायता उपलब्ध गराउन नजिकबाट समन्वय भइरहेको छ।”

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले सुदीप न्यौपानेको परिवार नेपाली अधिकारीहरूसँग सम्पर्कमा रहेको र बाँकी तीन जना सकुशल रहेको जानकारी दिएका छन्।

घटनापछि साउदी भ्रमण छोट्याएका भारतीय प्रधानमन्त्री मोदीले ‘आतङ्कवादविरुद्धको हाम्रो अठोट अझै बलियो हुनेछ’ भन्दै ट्वीट गरेका छन्।

भारतीय गृहमन्त्री अमित शाहले घटनाको भोलिपल्ट श्रीनगरमा सुरक्षा सम्बन्धी आपत्कालीन बैठक राखेका थिए।
एक इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।

घटनामा कैयौँ घाइते छन् भने प्रहरीका अनुसार धेरै पर्यटकहरूलाई अस्पताल लगिएको छ। जम्मु–कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली चलेको स्थानमा सवारीसाधन नपुग्ने बताए।

आक्रमण भएको स्थान पहलगामदेखि पाँच किलोमिटर टाढा, बैसरन नामको घाँसे मैदान हो। यो मनोरम स्थान पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ। अहिले त्यहाँ वर्षको सबैभन्दा बढी पर्यटक आउने समय हो।

घटनापछि भारतीय सेना र प्रहरीको संयुक्त टोली परिचालित गरिएको छ। उक्त क्षेत्रमा घेराबन्दी गर्दै आवतजावत गर्ने सवारीसाधनहरूलाई कडाइका साथ जाँच भइरहेको छ।

१९८९ देखि विद्रोहग्रस्त कश्मीर क्षेत्रमा पछिल्ला वर्षहरूमा आक्रमणहरू केही घटेका थिए, तर यस किसिमको पर्यटक लक्षित आक्रमण दुर्लभ मानिएको छ।

सन् २०१९ मा भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ जना सैनिक मारिएका थिए। त्यसपछि भारतले पाकिस्तानमा रहेका विद्रोही लुकेको दाबी गर्दै हवाई आक्रमण गरेको थियो।

भारतले पछिल्ला वर्षमा पहलगामजस्ता क्षेत्रको प्रवर्द्धनमा जोड दिएको छ। सरकारी तथ्याङ्कअनुसार, गत वर्ष मात्रै कश्मीरमा ३५ लाख पर्यटक पुगेका थिए।