जनकपुरधाम, वैशाख १० गते । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषासँग आवद्ध ३३ वटा पुस्तक व्यवसायीहरूले जनकपुरधाम उपमहानगरपालिकाले जारी गरेको पुस्तक सूची (बुक लिस्ट) कार्यान्वयन गर्न आग्रह गरेका छन्।

बुधबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले उपमहानगरपालिकाले बुक लिस्ट सार्वजनिक गरेपछि लाखौं रुपैयाँ लगानी गरेर ती सूचीमा समावेश पुस्तकहरू पसलमा भित्राइसकेको जनाए। उपमहानगरले निर्णय कार्यान्वयन नगरेमा आफ्नो लगानी डुब्ने भन्दै उनीहरूले नगर प्रमुख मनोज साहलाई सो निर्णयमा अडिग रहन आग्रह गरेका छन्।

महासंघका सहसचिव बजरंग यादवले उपमहानगरपालिकाले नगरका सबै विद्यालयहरूमा किताबको एकरूपता ल्याउने निर्णयले विद्यार्थी, अभिभावक र व्यवसायी सबैलाई सहज बनाएको उल्लेख गर्दै उपमहानगरलाई धन्यवाद दिए। साथै, आफैंले गरेको निर्णयलाई यथास्थितिमा कार्यान्वयन गर्न आग्रह पनि गरे।

उनका अनुसार मंगलबार नै अन्तिम बुक लिस्ट जारी गरिने भनिएपनि बुधबारसम्म पनि उक्त सूची सार्वजनिक नभएकाले अभिभावक र व्यवसायीहरू अन्योलमा परेका छन्। यस्तो अवस्थाले पुस्तक व्यवसायीहरूको लगानी जोखिममा परेको भन्दै उनले उपमहानगरलाई शीघ्र र स्पष्ट निर्णय लिन आग्रह गरेका छन्।

व्यवसायीहरूका अनुसार उपमहानगरपालिकाको निर्णयअनुसार नै पुस्तक खरिद गरिएकोले अहिले आएर अन्य विकल्पमा जाने अवस्था नरहेको र समयमै निर्णय नभएमा लाखौंको लगानी खेर जाने जोखिम रहेको छ।

उनीहरूले तत्काल अन्तिम बुक लिस्ट सार्वजनिक गरी पहिले गरिएको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपमहानगरलाई पुनः आग्रह गरेका छन्।