रञ्जन भण्डारी
महोत्तरी, वैशाख ११ गते। नेपालमा प्रत्येक वर्ष अर्बौं रुपैयाँ बराबरको तरकारी भारत लगायत अन्य मुलुकबाट आयात भइरहेका बेला देशकै कृषकहरू भने आत्मनिर्भरतातर्फ अग्रसर भइरहेका छन्। महोत्तरी जिल्लाको समसी गाउँपालिका–४ निवासी रामध्यान मण्डलले यस्तै उदाहरणीय प्रयास गर्दै आएका छन्।

उनले स्थापना गरेको जय माँ वैष्णोदेवी कृषि फर्म मार्फत रामध्यान मण्डलले ५ विघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। उनको उद्देश्य मात्र व्यावसायिक कृषि होइन, तर यस क्षेत्रको भारतमाथिको तरकारी आयातको निर्भरता घटाउने पनि हो।

उनले हाल फर्सी, करेला, बोडी, सजिवन, घिरौंला, भान्टा, लौका लगायत विभिन्न सिजन अनुसारका तरकारी उत्पादन गर्दै आइरहेका छन्। तरकारीको विविधता र गुणस्तरका कारण उनको फर्मले स्थानीय बजारमा राम्रो स्थान बनाइसकेको छ।

तर यति मात्रै होइन — रामध्यान मण्डलको कृषि व्यवसाय अझ फैलिएको छ। समसी गाउँपालिकामा ३२ विघा र रामगोपालपुर नगरपालिकामा २२ विघा गरी कुल ५४ विघा जग्गामा सञ्चालनमा रहेको उनको कृषि फर्ममा २२ विघा क्षेत्रफलमा माछापालन समेत गरिएको छ। बाँकी क्षेत्रमा कागती, मेवा, ड्रागन फ्रुट, केरा लगायतका फलफूलको खेतीसमेत भइरहेको छ।

स्थानीय युवाहरूका लागि प्रेरणाको स्रोत बनेका मण्डलले कृषि क्षेत्रमै करियर बनाउन सकिने सन्देश दिएका छन्। उनको फर्ममा अहिले दर्जनौं मजदूर स्थायी रूपमा कार्यरत छन् भने कृषि पर्यटनको सम्भावनालाई समेत केन्द्रमा राखेर भविष्यका योजना बनाउँदैछन्।