जनकपुरधाम, वैशाख १२ गते। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणप्रति कडा निन्दा र भर्त्सना गरेको छ।

आक्रमणमा एक नेपाली नागरिकसहित २६ जना पर्यटकको ज्यान गएको र केही अन्य गम्भीर घाइते भएको घटनाले पार्टीलाई अत्यन्त मर्माहत बनाएको लोसपाले जनाएको छ।

घटनामा परेर बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेको निधन भएकोप्रति दुःख व्यक्त गर्दै लोसपा नेपालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आतंकवादको न त कुनै धर्म हुन्छ, न त राष्ट्रियता र न नै कुनै स्वीकार्यता। त्यसैले सम्पूर्ण विश्व जागरुक भई आतंकवादविरुद्ध एकजुट भएर लड्नु आजको आवश्यकता हो।”

पार्टीले यस दुःखद घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको स्पष्ट गर्दै आतंकवादविरुद्ध सशक्त ऐक्यबद्धता जनाएको छ।