जनकपुरधाम, वैशाख १२ गते । निकै नै उत्साहका साथ आयोजना गरिएको मधेश प्रिमियर लिग –एमपीएल–३) सार्वजनिक रूपमा प्रचारबिना नै सम्पन्न भएकोे छ । जनस्तरमा अपेक्षित उत्साह र जानकारीको अभावबीच लिग सुरु भई समाप्त पनि भयो, तर मधेशवासीको ठूलो हिस्साले यसको जानकारीसम्म पाउन नसकेको आरोप लागेको छ ।

प्राप्त जानकारीअनुसार मधेश सरकारको खेलकुद मन्त्रालयमार्फत एमपीएल को प्रचार–प्रसार र व्यवस्थापनका लागि करीब ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । यद्यपि त्यो लगानीको प्रतिफल आम नागरिक र खेलप्रेमीहरूले देख्न पाएनन् ।

लिगका खेलहरू जहाँ आयोजना भए, त्यो स्थान वरिपरि मात्र केही चहलपहल देखिएको थियो । तर मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत अन्य प्रमुख सहरहरूमा यसको कुनै प्रभाव देखिएन । न त पोस्टर, विज्ञापन वा सामाजिक सञ्जालमार्फत प्रभावकारी सूचना प्रवाह भयो, न त स्थानीय सञ्चार माध्यममै यसको नियमित रिपोर्टिङ् ।

जनकपुरधामका एक खेलप्रेमी युवाले भने, “खेल हुँदैछ भन्ने थाहा पाउन पनि साथीको स्टोरी हेर्नुप¥यो । यस्तो ठूलो कार्यक्रमको प्रचार त्यति कमजोर होला भन्ने सोच्नै सकिन्न ।” अर्का एक स्थानीय पत्रकारको भनाइ छ, “सरकारी कार्यक्रमको नाममा खर्च त भयो, तर न पारदर्शिता देखियो, न सहभागिता ।”

मधेश सरकारले स्थानीय प्रतिभा उजागर गर्ने, युवामा खेलप्रतिको आकर्षण बढाउने र प्रदेशमा खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एमपीएल को आयोजना गरेको बताइएको थियो । तर लक्षित परिणाम नआएको भन्दै स्थानीयवासी र विश्लेषकहरू असन्तुष्ट देखिएका छन् ।

खेल सम्पन्न भएपनि न प्रतियोगिताको समापन कार्यक्रमबारे व्यापक जानकारी दिइयो, न त विजेता टोली र खेलाडीको औपचारिक सम्मानको चर्चा भयो । यसले लिगको प्रभावकारिता र व्यवस्थापनप्रति प्रश्न उठाएको छ ।

अब, मधेश प्रिमियर लिग को सफलता वा असफलताको निष्कर्ष निकाल्नुअघि यसको समग्र योजना, बजेटको उपयोगिता, र सार्वजनिक सहभागिता मूल्याङ्कन गरिनुपर्ने आवाज उठ्न थालेको छ ।