जनकपुरधाम, वैशाख १२ गते । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत पुलचौक क्षेत्रमा रहेको जलाद नदी पुरेर घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । उनीहरूले नदी थुनिएपछि वरपरका घरहरू डुबानमा पर्ने खतरा बढेको बताएका छन् ।

वडा नं. १६ र वडा नं. १ को सीमामा पर्ने उक्त नदीलाई ’निजी जग्गा’ भन्दै एक व्यक्तिले जबर्जस्ती पुरेको आरोप लागेको छ । स्थानीयवासी सुरेश साहका अनुसार नदी थुनिएपछि पानीको बहाव रोकिएको छ र आसपासका घरहरू क्षतिग्रस्त हुने अवस्थामा पुगेका छन् । उनले भने, “यदि त्यो नदी उनीहरूको निजी जग्गा भएर बगिरहेको हो भने कम्तीमा छलफल त हुनुपर्ने थियो । तर मुहान नै थुनिदिएपछि हामीको घरमा खतरा बढेको छ ।”

त्यस्तै, अर्का स्थानीय भगवाना साहले पनि जबर्जस्ती रातारात माटो खसालेर नदी पुरिएको आरोप लगाए । उनका अनुसार सम्बन्धित निकायमा गुनासो गर्दा पनि कसैले सुनुवाइ नगरेको गुनासो छ । उनले भने, “गुण्डा परिचालन गरेर रातदिन नदी पूरिँदै छ, नदीको बहाव रोकिएकाले हाम्रो घर नै बस्न अयोग्य हुन लागिसक्यो ।”

तर, यस घटनामा आरोपित जग्गाधनीले भने आफू कानुनअनुसार नै निजी सम्पत्ति प्रयोग गरिरहेको दाबी गरेका छन् । उनका अनुसार नदी पहिले अर्कै बाटो भएर बग्थ्यो, तर पछिल्लो समय निजको निजी जग्गा हुँदै बहन थालेपछि निर्माण कार्य अघि बढाइएको हो ।

उनले भने, “हामी कानुनसम्मत ढंगले आफनो निजी जग्गामा घर बनाउँदैछौं । निजी सम्पत्तिमा प्रयोग गर्न पनि रोक लगाउने ? हामीले नक्सा र कागजातअनुसार काम गरेका हौं ।”

यस विषयमा हालसम्म कुनै सरकारी निकायको औपचारिक प्रतिक्रिया आएको छैन। तर विवादले चर्किंदै जाँदा स्थानीय प्रशासनको भूमिकाबारे पनि प्रश्न उठ्न थालेको छ।