जनकपुरधाम, वैशाख १२ गते । सप्तरी जिल्लामा पार्टीगत कामका लागि पुगेका नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले जनताको स–साना समस्यामा समेत सहकार्य गर्दै उदाहरणीय कार्य गरेका छन् । महुली नदीस्थित पुल नजिक अटो रिक्साले चढ्न नसक्ने स्थिति देखेपछि यादव आफैँ गाडीबाट ओर्लेर रिक्सालाई धकेली सहयोग गरेका हुन् ।

उक्त अटो रिक्सामा महिला र बच्चा सवार थिए। पुलमा अटो चढ्न नसक्दा अलपत्र परेका यात्रुहरूलाई देखेपछि नेता यादवले आफ्नो सुरक्षाकर्मी र साथमा रहेका अन्य नेताहरूको सहयोगमा अटो धकेली पुल पार गराएका थिए । उनको यस्तो मानवीय सहकार्यले स्थानीयहरू बीच प्रशंसा बटुलिरहेको छ ।

महेन्द्र यादव पूर्व खानेपानी मन्त्रीसमेत भइसकेका नेता हुन् । मन्त्री रहेका बेला उनले जनकपुरधाम उपमहानगरपालिकाको विकासका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरेका थिए । यद्यपि, उपलब्ध बजेट उपमहानगरपालिकाले खर्च गर्न सकेन् ।

स्थानीयबासीहरूले यादवको यस्तो व्यवहारलाई ‘नेतृत्वको उदाहरणीय संवेदनशीलता’ भन्दै स्वागत गरेका छन् । “नेताले केवल ठूला कार्यक्रम मात्र होइन, जनताका स–साना समस्यामा पनि हातेमालो गर्न सक्नुपर्छ,“ नेपाली कांग्रेसका नेता बजंरग यादवले भने ।