जनकपुरधाम, वैशाख १२ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपालमा कार्यरत स्विस विकास तथा सहयोग नियोग ९एसडिसी० का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरबीच शुक्रबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटका क्रममा मधेश प्रदेशमा सञ्चालित स्विस सहयोग परियोजनाहरूको प्रभाव, त्यसमाझ देखिएका चुनौतीहरू र भविष्यमा सहकार्य विस्तार गर्ने सम्भावनाहरूबारे विस्तृत छलफल भएको प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।

मुख्यमन्त्री सिंहले संघीय शासन प्रणाली लागू भएको छोटो समयमै आवश्यक संरचना र प्रणालीहरू पूर्ण रूपमा नबन्नु, कानुनी अभाव, कार्यविधि निर्माणको झन्झटिलो प्रक्रिया, दक्ष जनशक्ति अभाव र समन्वयको कमजोरी प्रदेश सरकारका लागि चुनौती भएको बताए।

उनले भने, ूविकास साझेदार संस्थाहरूको सहयोगबाट प्राप्त बजेटलाई समयमा उपयोग गर्न प्रदेश सरकार प्रतिबद्ध छ। हामी स्वदेशमै सीपमूलक शिक्षा र उद्यमशीलताको प्रवर्द्धनमा लागेका छौं।ू

मुख्यमन्त्री सिंहले मधेश विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा कार्यक्रम अघि बढाउने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गर्न कार्यक्रमहरू तयार पारिएको बताए।

यस अवसरमा एसडिसीका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि नियोगले गरिरहेका प्रयासबारे जानकारी गराउँदै भविष्यमा प्रदेश सरकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

उनका अनुसार, चार वर्षे नयाँ परियोजनाहरूको तर्जुमा प्रक्रिया अघि बढिसकेको छ, जसअन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव संसाधन विकास तथा जीविकोपार्जनका क्षेत्रमा सघन सहकार्य गरिनेछ।

मधेश प्रदेशमा अझै पनि गरिबी, बेरोजगारी, शिक्षा तथा स्वास्थ्यको पहुँच अभावजस्ता चुनौतीहरू विद्यमान रहेको भन्दै यी समस्याहरू समाधान गर्न विशेष कार्यक्रम आवश्यक भएको स्विस नियोगको धारणा रहेको कर्णले बताए।